झापां, बैशाख २४ । वीरगञ्जमा आज देखिएका कोरोना भाइरस रोगका संक्रमितमध्ये १७ जना एकै परिवारका सदस्य रहेको पाइएको छ ।

आज देखिएका संक्रमितमध्ये १७ जना एकै परिवारका सदस्य रहेको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले जानकारी दिए । यसअघि आईतबार ३६ वर्षका युवालाई कोरोना भाइरस रोगको पुष्टि भएको थियो । आज संक्रमण देखिएका व्यक्तिहरु ती युवककै सम्पर्कमा आएका व्यक्तिहरु हुन् । नेपालमा पहिलोपटक एकै परिवारका सदस्यमा यति धेरै संक्रमण देखिएको हो । संक्रमितहरु वीरगञ्ज महानगरपालिका–३ छपकैयाका हुन् । पर्सामा आज २ महिनादेखि ६६ वर्ष उमेरका १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बहराइनमा २४५ नेपाली कोरोना संक्रमित

नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना भाइरस कोभिड—१९ को संक्रमण पुष्टि भएको छ।

मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ थियो । दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना संक्रमणबाट आठ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ । ठूलो संख्यामा नेपालीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्