राजेन्द्र गौतम ,
झापा, वैशाख २५ । अनलाइन ( भर्चुअल ) कक्षा संचालनको नाममा विद्यार्थी र अभिभावकसँग थप रकम नलिन प्याब्सन झापाले निजी विद्यालय संचालकलाई आग्रह गरेको छ ।

प्याब्सन झापाका अध्यक्ष उप्रेती

अभिभावक र विद्यार्थीले भर्चुअल कक्षा संचालन गरेर वैशाख र जेठ महिनाको शुल्क असुल्न खोजेको हुन सक्ने आशंका व्यक्त गरेपछि प्याब्सनले आधिकारिक धारणा सार्वजनिक गरेको हो । प्याब्सन झापाका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती ( एलपी ) ले प्रतिदिन अनलाइनसँग कुरा गर्दै अनलाइन कक्षा संचालन गरेर शुल्क असुल्ने योजना विद्यालय संचालकले बनाएको भए त्यो प्याब्सनलाई स्वीकार्य नहुने बताए । ‘ यो नियमित कक्षा होइन,यसमा सबैको सहज पहुँच पनि छैन, हुँदैन’ अध्यक्ष उप्रेतीले भने,‘ आफ्ना विद्यार्थीलाई व्यस्त राख्ने,लकडाउनका बेला घरमै भएका विद्यार्थीलाई नयाँ कुरा सिकाउनु,प्रविधि प्रयोग गरेर नयाँ ज्ञान दिनु राम्रो र सह्रानीय काम हो तर यसलाई नियमित पढाइ भनेर शुल्क असुल्ने काम कसैले गर्नै हुँदैन ।’ उनले कुनै विद्यालयले त्यसरी शुल्क असुलेको र असुल्ने योजना बनाएको भए प्याब्सनलाई जानकारी गराउन आग्रह गरे । प्याब्सनले यसअघि नै आबद्ध विद्यालय र संचालकलाई अनलाइन कक्षा संचालन गरेर शुल्क नलिन आग्रह गरिसकेको उनले बताए । अहिले नै विद्यालय संचालन गर्न सक्ने अवस्था नभएकोले सरोकारवालासँग छलफल गरेर सरकारले बनाउने योजना नुरुप अघि बढ्नु पर्ने र विद्यार्थीको छुटेको पढाइ पूरा गर्ने विषयमा प्याब्सनले आन्तरिक योजना बनाउन सक्ने उनले जनाए ।
कुनै पनि विद्यालयले अनलाइन कक्षामा सहभागी हुनैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्न नसक्ने र नमिल्ने अध्यक्ष उप्रेतीको भनाइ छ । उनले कोर्सभन्दा पनि अतिरिक्त कुरा सिकाउन अनलाइन कक्षा केन्द्रित हुनु पर्ने बताए । अभिभावक र विद्यार्थीलाई थप आर्थिक भार पर्ने हो कि भन्ने चिन्ता नलिन आग्रह गर्दै उनले भने,‘ यो विषयमा प्याब्सन तपाईंहरुको साथमा छ, अन्याय हुन दिइने छैन ।’ प्याब्सनमा आबद्ध नभएका विद्यालय र त्यसका संचालकलाई समेत अनलाइन कक्षाको शुल्क नअसुल्न अध्यक्ष उप्रेतीले आग्रह समेत गरे । उनले भने,‘ कोरोना संक्रमणको सन्त्रासको बेला विद्यार्थी र अभिभावक मनोवैज्ञानिक असर पर्ने काम कसैले गर्न हुँदैन ।’ रोकिएको पढाईलाई पूरा गर्न अभिभावक संघसँग पनि छलफल गरेर प्याब्सन अघि बढ्ने योजनामा रहेको उनले बताए ।

एसईई दिने विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेका बिर्तामोड—३ स्थित नवोदय शिक्षा सदनका संस्थापक प्रिन्सिपल धर्मराज माझीले आफूहरुले विद्यार्थीलाई अपडेट गराइ राख्नका लागि अनलाइन कक्षा चलाएको बताए । उनले त्यसका लागि विद्यार्थीबाट कुनै अतिरिक्त शुल्क नलिइने र लिन नहुने बताए । ‘ प्रविधिमा पहुँच भएका विद्यार्थीलाई सिर्जनात्मक बनाउने हाम्रो प्रयास हो’ उनले भने,‘ यस्तो कक्षा सञ्चालन गरेर शुल्क लिने कुरा गरिनु हुन्न, लिइनु हुँदैन ।’ नेशनल प्याब्सनका पूर्व केन्द्रीय सदस्यसमेत रहेका माझीले भर्चुअल कक्षाको अतिरिक्त शुल्क नलिन सबै विद्यालय सञ्चालकहरुलाई आग्रह समेत गरे । उनले भने,‘ नियमित पठनपाठन रोकिएको अहिलेको असहज परिस्थितिमा पहुँच र उपलब्ध प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई केही सिर्जनात्मक र अतिरिक्त कुरा सिकाउनु विद्यालय सञ्चालकको दायित्व नै हो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्