झापा, २७ वैशाख । लामो समयदेखि बन्द भएको काँकडभिट्टा नाका शनिबारदेखि खुलेको छ । कोरोना भाइरसको संक्रमण त्रासले भारत पश्चिम बंगालको भन्सार विभागले गत एक महिनादेखि निर्यात बन्द गरेको थियो । भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाका काँकडभिट्टा भारततर्फ एकलौटी रुपमा बन्द भएको हो ।
भारतबाट मालबाहक सवारी साधन मात्रै नेपाल प्रवेश गर्न पाउने र नेपाल प्रवेश गरेका सबै सवारी साधनलाई नाकामा नै ‘स्प्रे’ गरेर नेपाल प्रवेश गराउने व्यवस्था मिलाइएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख धु्रवराज विश्वकर्माले बताए । “एउटा सवारी साधनमा चालक र सहचालक दुई जना मात्रै आउन पाउने र त्यो भन्दा बढी संख्यामा मानिस आए सुरक्षा निकायसँगको समन्वयमा अनुसन्धान गरिने छ ।” शनिबार साँझसम्म ३० वटा मालबाहक ट्रक भन्सारमा प्रवेश गरेको प्रमुख विश्वकर्माले बताए ।
कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको भारतबाट नेपाल प्रवेश गरेका सवारीका चालक र सहचालकलाई भन्सार यार्ड भन्दा बाहिर निस्कन नदिने र नेपाल प्रवेश गर्ने बितिकै चालक र सहचालकको ज्वरो परिक्षण गरिने तथा आवश्यक सुरक्षा अपनाएर मात्र राखिने मेची भन्सारले जनाएको छ । भारतबाट आएका मालबाहक सवारी साधनलाई २४ घण्टासम्म भन्सारमा नै राखेर मात्रै जाँचपास गरेर नेपालका विभिन्न ठाउँमा पठाइने विश्वकर्माले जानकारी दिए । नेपाल तर्फ भन्सारको सेवा निरन्तर चलिरहेको भए पनि भारतको पश्चिम बंगाल सरकारले एकलौटी रुपमा बन्द गराए पछि पूर्वी नाका एक महिनादेखि बन्द भएको थियो । बंगाल सरकारले गरेको कडाइले बंगलादेश र भुटानसँगको व्यापार पनि ठप्प थियो । शुक्रबार भारतको पश्चिम बंगाल सरकारले नाका खोल्ने निर्णय गरेपछि शनिबारदेखि नाका सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्