इन्द्रसिंह राजवंशी

खाना लिन लाइनमा उभिएका सर्वसाधारण

बिर्तामोड, बैशाख २८ । बिर्तामोड नगरपालिकाले बाँडेको ४ किलो चामल सकिएर भोकमरीमा पर्न लागेका विपन्नहरुलाई खाना खुवाउने सहयोगीहरु थपिदै गएका छन् । बिर्तामोड —३ का व्यवसायी रामेश्वर मण्डलले चुल्हो निभेकाहरुलाई खाना खुवाएको एक साताबढी भइसक्यो । उनले मेची आँखा अस्पताल सैनिकमोड अगाडि दैनिक दुई सयभन्दा बढीलाई खाना खुवाउँदै आएका छन् । पहिलो दिन बैशाख २१ गते १८०, २२ गते २५०, २३ गते २५०, २४ गते २७५ ,२५ गते २६० जनालाई उनले दाल, भात र तरकारी खुवाएर जीवन बचाएका छन् । आफ्नै निजी खर्चमा थालेका मण्डललाई त्यस परोपकार कार्यका लागि अरु सहयोगीहरुले पनि सहयोग गर्ने गरेका छन् । ‘प्रत्येक दिन ७ हजारभन्दा बढीको खर्च आउँछ’ मण्डलले भने, ‘पहिला म एक्लैले ब्यहोर्ने गर्थेँ, अहिले अरुहरुले पनि सहयोग गर्न थालेका छन् । ’ उनलाई राजु राईले २ हजार, अमृत रिजालले २ हजार, ओमप्रकाश शाहले २ हजार ५ सय, अशोक चौधरीले २ क्वीन्टल चामल, मनोज रौनियारले १ क्वीन्टल आलु सहयोग गरेका छन् । भोकमरीमा परेका ब्यक्तिहरुलाई पकाएर खुवाउन १५ देखि २० जना नियमित खटिएका छन् । लकडाउनका कारण पसल बन्द भएपछि छिमेकीहरु स्वस्फूर्तरुपमा सघाउन आएको मण्डलले बताए । हातमा पञ्जा, मुखमा मास्क लगाएर सबैले सामाजिक दुरी कायम गरेर खाना पकाउने र वितरण गर्ने गरेका छन् । त्यस्तै खाना खान आउनेहरुलाई पनि गोलो घेराभित्र उभिन लगाएर कुपन प्रणालीका आधारमा खाना बाँड्ने गरेको सहयोगी राजु राईले बताए । आफूहरुले अधिकांशलाई घरमै लगेर खान सक्ने गरी प्योकेजिङ गरेर दिने गरेको बताउँदै राईले त्यही खान खोज्नेहरुलाई प्लेट दिएर खाने ब्यबस्थासमेत मिलाएको जानकारी दिए ।
त्यसैगरी घरमा खाद्यान्न सकिएर भोकै पर्ने अबस्था आएपछि नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीले पनि शुक्रबारदेखि सामूहिक खाना खुवाउने कार्यक्रम शुरु गरेका छन् । उनले बिर्तामोड— ३ कै चौसठ्ठी काली मन्दिर टोल विकास संस्थाका सुकुम्वासीहरुलाई लक्षित गरी खाना खुवाउन थालेका हुन् । पहिलो दिन उनले २५३ जनालाई दाल, भात, तरकारी र अचार पकाएर खुवाएका छन् । ‘मैले निजी लगानीबाट यो पुण्य कार्यक्रम थालेको छु ’ उनले भने,‘ लकडाउन नहटेसम्म यो सेवा जारी रहन्छ ।’ उनले पनि खाना प्याकेजिङ गरेर दिने ब्यबस्था मिलाएका छन् । ‘बिर्तामोड नगरपालिकाले दिएको ४ केजी चामलले ४६ दिन भ्याउँदैन’ सहयोगी उप्रेतीले भने,‘ मैले कोही भोकै मर्नु हुँदैन भनेर मात्र सहयोग गरेको हुँ ।’ चौसठ्ठी काली मन्दिर टोल विकास संस्थामा ७२ घरपरिवार छन् । तीमध्ये ५५ परिवार सुकुम्बासी छन् । तीन दिनदेखि घरमा चुल्हो बल्न छोडेपछि आफूहरुले सहयोेगका लागि उप्रेतीलाई गुहारेको टोल विकास संस्थाका अध्यक्ष कुलबहादुर दर्जीले बताए । उनले नगरपालिकाको आशमा बस्दा भोकै मर्ने अबस्था आएको समस्या सुनाए । शुक्रबारदेखि खाना पकाएर खुवाउन १० जना लगातार खटिरहेका छन् । खाना पकाउने दुईजना कुकलाई ज्याला दिएर काममा लगाएको उप्रेतीले बताए । बाँकी टोल विकास संस्थाका सदस्यहरुले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् ।

बाँड्न तयारी खाना

खाना मागेरै परिवारको गुजारा
बिर्तामोड ३ विराटपोखरीकी चाँद कर्मकारले मण्डलकोे खाना लगातार खाएको ८ दिन भइसक्यो । आफूसहित बुवा, आमा, श्रीमान र छोरीका लागि उनले त्यहीबाट खाना लाने गरेकी छन् । ‘काम छैन घरमा माम पनि छैन ’२५ वर्षिया चाँदले भनिन्, ‘यसैबाट गुजारा चलाएका छौँ ।’उनीजस्तै छेउछाउका धेरै विपन्न परिवार त्यहीको खानाले पालिएका छन् । मण्डलले थालेको खाना खुवाउने कार्यक्रमले स्थानीय नागरिकसँगै नेपालमा अलपत्र परेका भारतीयहरुलाई पनि राहत मिलेको छ । आँखा अस्पतालमा उपचार गर्न आउँदा घर फर्किन नसकी पश्चिम बंगाल दार्जिलिङकी लिना राई पनि त्यहीको खाना खाएर टिकेकी छन् । गत मार्च ३० मा नेपाल आएका उनीसहित तीनजना खर्च नभएर अलपत्र परेका छन् । ‘लजमा प्रतिदिनको तिर्न नसकेर महिनावारी बसेका छौ ’ लिनाले भनिन्, ‘ शुरुमा आफै कोठामा खाना पकाएर खान्थ्यौ, अहिले यहीको खाना लगेर खान्छौँ ।’ त्यस्तै भारत आसामकी दिपाञ्जली देका पनि ६ आफन्तसहित अलपत्र परेकी छन् । गत १९ मार्चदेखि गुहावटी होटलमा बसेका उनीहरुले पैसा नभएर होटलको भाडा तिरेका छैनन् । खाना भने त्यहीबाट लगेर खाने गरेको उनले बताइन् । आँखा अस्पतालमा उपचार गर्न आउने ३० भन्दा बढी भारतीय लकडाउनका कारण अलपत्र अबस्थामा रहेको होटल ब्यबसायीहरुले बताएका छन् ।
बिर्तामोड ३ मा सबैभन्दा बढी विपन्न
बिर्तामोड —३ मा १ हजार ४६६ घरधुरी छन् । तीमध्ये १ हजार २६ परिवार विपन्न रहेको वडा कार्यालयको तथ्यांकले देखाएको छ । बिर्तामोड नगरपालिकाले सबैभन्दा बढी राहत वडा नं ३ का बासिन्दालाई वितरण गरेको थियो । नगरका कुल ६ हजार ९३० विपन्न परिवारमध्ये १ हजार २६ वडा नं ३ का हुन् ।डेढ महिनाभन्दा लामो लकडाउनमा नगरपालिकाको राहतप्रति भर गर्दा वडाबासी भोकै मर्न लागेपछि आफूले नै सामूहिक मेस चलाउन विभिन्न सहयोगीहरुलाई आह्वान गरेको वडाध्यक्ष भोजराज सिटौलाले बताए । बिर्तामोड ३ मा नगरपालिकाले गत चैत ३० गते प्रतिब्यक्ति ४ किलो चामल,एक पोका नून र आधा किलो दाल वितरण गरेको थियो । सिटौलाले अहिले दुई ठाउँमा सामूहिक खाना खुवाउने कार्यक्रम संचालन भइरहेको बताउँदै थप तीन ठाउँमा त्यस किसिमको राहतको ब्यबस्था मिलाउन लागेको जानकारी दिए ।‘ स्थिति भयावह बन्दै छ, लकडाउनले धेरै परिवारको चुल्हो निभिसक्यो’ उनले भने,‘त्यही भएर वडा कार्यालय आफैले राहतको लागि समन्वय गर्न बाध्य बनेको हो ।’ उनले भोकमरीको समस्या आउन नदिन विभिन्न ब्यक्ति र संघसंस्थालाई आह्वान गरेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्