भद्रपुर, बैशाख २८ । भद्रपुर ६ नम्बर वडाध्यक्षले वडा कार्यालयमा सञ्चालन गर्ने कार्य सम्पादन अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस भद्रपुर ६ नम्बर वडा समितिले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै

कोरोना संक्रमणको युद्धमा वडाभित्र रहेका सवै दल, सहयोगी हात र वडाका जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने वडाध्यक्षले बहुमतको बलमा मनोमानी गरेको आरोप लगाउँदै वडा कांग्रेसले कार्यशैली सच्याउन माग राखेकोे हो ।नगर प्रमुख जीवनकुमार श्रेष्ठ तथा वडाध्यक्ष प्रेमबहादुर बरूवाललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ— वडाध्यक्षले केन्द्रीय सरकारको पदचापलाई नै पछ्याउँदै आएका छन् । मूलतः उनको शुरु देखिको अपारदर्शीतालाई बढावा दिने विधि प्रक्रिया र स्थापित मापदण्ड विपरितको काम गर्ने शैलीले हामीलाई गम्भीर बनाएको छ ।हाम्रो पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका वडा सदस्यहरुलाई वडाबाट सम्पादन हुने महत्वपूर्ण विषयहरूमा कुनै जानकारी नगराई छलफलमा सहभागी नगराई वडाको नेतृत्वबाट एकलौटी ढंगले निर्णय गरी काम गर्ने गरेको तथ्यको बारेमा हामी पूर्ण जानकार छौं । वडाको बजेटबाट वितरण हुने बाख्रापालन, गोठ सुधार जस्ता विभिन्न शीर्षकको रकम वितरण गर्दा संस्थागत निर्णय प्रक्रियालाई लत्याईएको छ । कुनै अपवित्र स्वार्थको बशमा परेर नै यस्ता अपारदर्शी क्रियाकलाप सम्पादन हुन जाने कुरामा दुई मत हुन सक्दैन ।

ज्ञापनपत्रमा नेपाली कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहेका रतिया राजवंशी र वडासभापति सुशान्त रायमाझीले हस्ताक्षर गरी वडा कार्यालय र बोदार्थ भद्रपुर नगरपालिकाको कार्यालयमा नगर प्रमुखलाई बुझाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्