कमल, बैशाख ३० । धार्मिक आस्थाका रुपमा देवीथानमा गरिदैआएको भगवान देवीको पूजा यसवर्ष पनि मनाईएको छ । बैशाखे पूर्णिमाको पञ्चमीका दिन गरिदैआएको देवीपूजा झापाको कमल गाउँपालिकाका विभिन्न स्थानमा आज सामूहिक गरिएको छ ।

यसैक्रममा कमल ७ स्थित मेमेङ्ग टोलमा रहेको देवीथानमा किरात धर्मावलम्बीहरुले कुल देवीदेवताको पूजाआजा गरिएको स्थानीय किरात युमा माङहिमका अध्यक्ष भिमराज लिम्बुले बताएका छन् । बर्षौदेखि त्यहाँ हरेक बर्ष आजकै दिन गाउँले भेला भई देवीपूजा गर्दैआएको उनले बताए । यसवर्ष भने कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले जारी राखेको बन्दाबन्दी कारण भौतिक दुरी कायम गरी सतर्कताका साथ पूजाआजा गरिएको उनले जानकारी दिए ।
स्थानीय गणेशबहादुर केरुङले संरक्षण गर्दै आएको देवीथानसहितको दुई कठ्ठा जमिनमा किरात माङहिम निर्माण भईरहेको छ । देवीथानको संरक्षण गर्न दाता केरुङले गतवर्ष करिव १ लाख रुपैयाँ खर्चिएर पक्की घेराबेरा लगायतको संरचना निर्माण गरिदिएका छन् ।

दाता केरुङले बर्षौदेखि संरक्षित यस देवीथानमा बर्षेनि बैशाखे पञ्चमी तिथिका दिन यसरी नै पूजाअर्चना गर्दै आएको बताए । विशेषगरी प्रकृतिमा अन्नवाली राम्रो बनोस् ,कसैलाई रोगव्याधी नलागोस् भन्दै भगवान देवीको किरात धर्म संस्कार अनुसार पूजाआजा गरिने चलन रहेको उनले बताए । देवीपूजामा पूजारीद्वय बमविक्रम लावती र नरसिंह केरुङले किरात धर्म संस्कृति अनुसार पूजापाठ गरेका थिए । पूजापाठ विहान ८ वजेदेखि दिउँसो एक बजेसम्म चलेको माङहिम निर्माण समितिका अध्यक्ष पूर्णकुमार मावोले बताए । पूजामा त्यस टोलका बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
त्यसवाहेक कमल— ७ कै गेउरिया पश्चिममा पनि आदिवासी जनजातिहरुले आज नै देवी पूजाआजा गरी मनाएको स्थानीय लालवहादुर सुनुवारले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्