बिर्तामोड,बैशाख ३० । समाजमा यस्ता पनि मानिस छन् जो दुःखमा परेका र अभावमा छट्पटाएकालाई सहयोग गरेर रमाउन चाहन्छन् । तिनै मध्येका हुन् झापा विर्तामोडका सामाजिक व्यक्तित्व डिल्लीरमण शिवाकोटी र गीता शिवाकोटी । सेवा नै धर्म हो कुरा आत्मसात गरी सामाजिक क्षेत्रमा क्रियाशील उनीहरुले यो संकटको घडीमा पनि स्तुत्य कार्य गरेका छन् ।

लामो समयदेखि अर्काको घरमा बसेर पत्रकारिता गर्दै आएका झापा अर्जुनधारा–५ का इन्द्रकुमार राईले गत वर्ष स्थानीय समाजसेवी केदार पराजुलीको पहलमा घर बनाउनका लागि भिटा प्राप्त गरे । जमिन प्राप्त गरेसंगै अर्जुनधारा नगरपालिकाबाट शनिश्चरे प्रेस क्लवको पहलमा एक लाख रुपैयाँ अनुदान प्राप्त गरेपछि राईले निर्माण गर्न थालेको अधुरो घरलाई शिवाकोटी दम्पत्तीले छानो लगाइदिएका छन् ।
राईको घरको छानो लगाउने सन्दर्भबारे शिवाकोटीले स्मरण गर्दै भने–‘फागु पूर्णिमामा रमाइलो गर्ने कुरा आयो । फजुल खर्च गरेर सक्ने भन्दा पनि एउटा कमजोरलाई केही ठोस सहयोग गर्न पाए हुन्थ्यो भनेपछि एकराजजीले त्यसो गर्दा झन् राम्रो भन्नु भएको थियो सोही अनुसार यो काम भएको हो ।’

शिवाकोटी दम्पत्तीले कोरोनाको कहर चलिरहेका बेला मंगलबार राईको घरको छानाका लागि आवश्यक टिन, मगरा, काँटी, वासर लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।
सामग्री हस्तान्तरणका क्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीले शिवाकोटी दम्पत्तीले ओत लाग्ने ठाउँ नभएका पत्रकारलाई छानो लगाइदिएर ठूलो सहयोग गरेको भन्दै आभारसहित धन्यवाद दिए । पत्रकार महासंघ प्रदेश समिति सदस्य रेजीना रोदनले लामो प्रतिक्षापछि अब भने पत्रकार राईको आफ्नै घरमा बस्सोने सपना पूरा भएकोमा खुशी व्यक्त गरिन् । त्यसक्रममा अर्जुनधारा प्रेस क्लवका सदस्य विनोद पाण्डे, जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्