झापा जेठ ४ । झापाको दक्षिणी सीमामा तैनाथ सशस्त्र प्रहरीको अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका छन् । कचनकवल गाउँपालिका – १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले शनिबार साँझ आक्रमण गरेका हुन् ।

एक सय जनाको संख्यामा आएका भारतीयहरुले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेको कचनकवल –१ का वडाध्यक्ष लक्ष्मी यादवले बताए । उनले विहारको सुरिभिट्टातर्फबाट आक्रमण भएको जनाए । १२५ नम्बर सीमा स्तम्भ नजिक रहेको प्रहरी पोस्टमा आक्रमण भएको हो । भारतीयले आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । नेपाली नागरिक पनि प्रतिकारका उत्रिएको वडाध्यक्ष यादवले बताए ।आक्रमणबाट सशस्त्र प्रहरीको पोष्टमा क्षति भएको छ ।
घटनाको प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले भर्त्सना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकवालमा लेखेका छन्, – अहिले राति कचनकवल १ घेरावारीमा सिमा सुरक्षामा रहेका सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरुबाट भएको आक्रमण प्रयासको भर्त्सना गर्दछु । सशक्त प्रतिकार गरि आक्रमणकारीहरूलाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीय जनतामा धन्यवाद ब्यक्त गर्दछु ।

यसअघि पनि भारतीय नागरिकले झापा गाउँपालिकाको १३१ सीमा पिलर नजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो । वैशाख २३ गते भएको सो घटनामा पनि सशस्त्र प्रहरीले २ राउन्ड गोली चलाएको थियो । घटनालगत्तै भारतीय पक्षले माफी मागेको थियो । तर १३ दिन नबित्दै भारतीय पक्षले आक्रमण गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्