दमक, जेठ ४ । जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले राहतको विकल्पमा त्यस्ता वर्गलाई लक्षित गरी एक परिवार, एक रोजगारी कार्यक्रम सुरु गरेको हो ।
दमक नगरपालिकाको वडा नम्बर ३ मा करिब ६०० परिवारलाई लक्षित गरी उक्त कार्यक्रम सुरु गरिएको वडाध्यक्ष नविन बरालले वताए । कार्यक्रमको पहिलो दिन शनिबार ८५ जना रोजगारीमा संलग्न थिए । उनीहरुलाई सोही वडाको हम्सेदुम्से सामुदायिक वनसँगको सहकार्यमा रोजगारी प्रदान गरिदैआएको उनले बताए ।
दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरिएको कार्यक्रमअनुसार उक्त सामुदायिक वन क्षेत्रका काममा परिचालन गरिएको वडाध्यक्ष बराल बताँउछन् । उनका अनुसार वन क्षेत्रमा अहिले वृक्षारोपण गर्ने समय भएकाले वन क्षेत्रमा रहेको झाडी फाँड्ने, आँप बगान गोड्ने, खाल्डो खन्ने कार्य सुरू गरिएको छ ।
त्यस कार्यक्रमअनुसार पहिलो चरणमा करिब ६०० परिवारलाई रोजगारी दिइने तयारी गरिएको र अन्य क्षेत्रमा समेत त्यसरी नै रोजगारीको व्यवस्थापन गर्न लागिएको वडाध्यक्ष बरालले बताए । स्वास्थ्य सुरक्षासहित सामाजिक दूरी कायम हुने गरी काम सुरू गरिएको हो । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परिवारलाई दुई दिन रोजगारी दिइने तथा त्यस्ता श्रमिकलाई सरकारले तोकेको दैनिक ज्याला वा खाद्यान्न दिइने वडासचिव सन्दिप सुवेदीले बताए।
नगरपालिकाले बन्दाबन्दीका क्रममा श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तहरुलाई भने खाद्यान्न राहत नै प्रदान गर्ने छ ।

हंसेदुम्से सामुदायिक वनका अध्यक्ष हिमालय दाहालका अनुसार श्रमिकलाई सामाजिक दूरी कायम गराउन वन समिति र वडा कार्यालयले निगरानी गर्न हरेक टोलीमा एक जना स्वयंसेवक समेत खटाइएको छ ।
नगरपालिकाले आगामी वर्षदेखि यही मोडलको कार्यक्रमलाई सबै वडामा विस्तार गर्ने योजना रहेको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बताइन् । उनले वडा नम्बर ३ को यस कार्यक्रमको नतिजाले अन्य वडामा पनि कार्यक्रम विस्तारमा सहयोग पुग्नेमा जोड दिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्