भद्रपुर, जेठ ४ । बन्दाबन्दीले जीवन गुजारा गर्न धौधौ परेका अति विपन्न ४ सय परिवारलाई एक्सल डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारीले खाद्यान्न राहत वितरण गरेका छन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्मचारी युनियनले आफ्नो कार्यक्षेत्र भित्रका अतिविपन्न परिवारलाई प्रतिपरिवार २० किलो चामल, ५ किलो आँटा, २ लिटर तेल, २ किलो नुन, एक किलो मुरै, २ प्याकेट मसला, २ प्याकेट बेसार र २ किलो चिउरा राहत स्वरूप वितरण गरेका हुन् ।
बन्दाबन्दीले रोजगारी गुमेका दैनिक ज्यालादारी गरेर जीविका चलाउने परिवारमध्ये अतिविपन्नको सूचीमा रहेकाको पहिचान गरी स्थानीय सरकारसित समन्वय गरेर कर्मचारी युनियनले राहत बाँडेको हो ।

झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको बैंकका झापा मोरङ, इलाम लगायत प्रदेश १ मा ३७ वटा शाखामार्फत कर्मचारी युनियनले राहत बाँडेको भद्रपुर २ सोमवारे शाखाका प्रमुख राजशंकर झाले जानकारी दिए । शाखा प्रबन्धक झाका अनुसार भद्रपुर नगर क्षेत्रमा रहेका ३ वटा शाखाले अतिविपन्न ४० घर परिवारलाई एक महिना धान्ने गरी खाद्यान्न प्रदान गरिएको छ । भद्रपुर नगरका १० वटा वडाभित्रका प्रत्येक वडाबाट ४ जनाका दरले ४० जनालाई खाद्य सहयोग गरिएको हो ।
बैंकमा कार्यरत कर्मचारीको २ दिनको तलव विपन्न परिवारका लागि गाँस जुटाउन सहयोग गरिएको युनियनले जनाएको छ । जसमा आइतवार मात्र विर्तामोड नगर क्षेत्रमा ४५ , कन्काईमा ४०, भद्रपुर ४०, महेन्द्रचौक विराटनगरमा ११ परिवारलाई खाद्यान्न सहयोग गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्