भद्रपुर, जेठ ४ । बन्दाबन्दीको मौका छोपी औषधी पसलका नाममा कालोबजारी गर्ने तथा नियम विपरित बिक्री गर्ने ३ वटा पसल कारवाहीमा परेका छन् ।

जिल्ला वजार अनुगमन समितिको नेतृत्वमा औषधी व्यवस्था विभागले गरेको अनुगमनका क्रममा नियम मिच्ने औषधी पसललाई कारवाहीको गरिएको हो ।
औषधी पसलमा मास्क, पंजा तथा सेनिटाइजर बढी मूल्यमा बिक्री गरेको जनगुनासो बढेपछि चन्द्रगढी तथा भद्रपुरका औषधी पसलको अनुगमन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाको अगुवाईमा औषधी व्यवस्था विभाग बिराटनगर, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका, झापा उद्योग वाणिज्य सघंको संयुक्त टोलीले औषधी पसलको अनुगमन गरेको थियो । चन्द्रगढी तथा भद्रपुरका १२ वटा औषधी पसलको अनुगमन गर्ने क्रममा दुर्गा मेडिकल हल भद्रपुर, कृपा फार्मेसी चन्द्रगढी र संगम औषधालय चन्द्रगढीले नियम विपरित विभागमा दर्ता नभएका औषधी र खाद्यपूरक औषधी बेच्ने गरेको पाइएको थियो ।

अनुगमनका क्रममा बरामद गरिएका औषधी तथा खाद्यपूरक औषधी नियन्त्रणमा लिएर सञ्चालकहरूलाई बन्दाबन्दीको समयपछि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बिभागका निमित्त प्रमुख संजिब शर्मा कट्टेलले जानकारी दिए ।
औषधी पसल अनुगमनको क्रममा बिल नदिने गरेको, कस्मेटिक सामान बिक्री गर्ने गरेको, नविकरण नगरी सञ्चालन भइरहेका पसललाई सचेत पत्र दिइएको छ भने फेरि पनि नियम विपरितका यस्ता कार्य भेटिए जरिवाना गरिने बजार अनुगमनका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्