भद्रपुर, जेठ ५ ।चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० ले आफ्नो प्रभाव क्षेत्रभित्रका अति विपन्न परिवारका लागि ६ लाख मूल्य वरावरको खाद्यान्न सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत समितिले बन्दाबन्दी कारण दैनिक गुजारामा समस्यामा परेका उपभोग्य क्षेत्रका भद्रपुर ७, ८ र १० का अतिविपन्न परिवारका लागि १० टन चामल, २ टन दाल, एक टन नुन वडा कार्यालयमार्फत राहत स्वरूप वितरण गरेको हो ।
यसैगरी समितिले चैत्रदेखि जेठसम्मको पानीको महशुलमा २० प्रतिशत छुट दिने, विलम्ब शुल्क नलिने, विभिन्न क्वारेन्टाइनस्थलमा शुद्ध पिउने पानीका लागि निशुल्क धारा जडान गर्ने, सार्वजनिक स्थलमा खानेपानी पहुँचका लागि धारा जडान गर्ने जस्ता सामाजिक सेवाको काम समेत गरेको समितिका सचिव बाबुराम कार्कीले जानकारी दिए । उनका अनुसार जेठ मसान्तभित्र महशुल बुझाउने उपभोक्तालाई समितिले बैशाख र जेठको महशुलमा एकमुष्ठ २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

समितिले सूचना जारी गरी उपभोक्ताहरूलाई महशुल छुटबारे जानकारी समेत गराएको छ । जेठ १ गतेदेखि मिटर रिडिङ र महशुल संकलनको काम पनि सुरु भएको छ । विहान ८ देखि ११ सम्म महशुल काउन्टर खुला रहने समितिले जनाएको छ ।
त्यसैगरी समितिको कार्यालयमा १० क्वीन्टल चामल जगेडामा राखेर छाक टार्न समस्यामा परेका अतिविपन्नको पहिचान गरेर आपतकालिन खाद्यान्न सहयोग समेत गरिरहेको जनाइएको छ । समितिको चैत्र र बैशाख महिनाको आम्दानी सुन्य भए पनि जगेडा कोषमार्फत खर्च व्यवस्थापन गरिएको व्यवस्थापक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार समितिले २४ सै घण्टा उपभोक्ताको घरघरमा पानी पुग्ने गरी व्यवस्थापन गरिएको समेत जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्