राजेन्द्र गौतम, वैशाख ७ । सोमबार र मंगलबार गरिएको परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ आएपछि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिका पुरै सिल गरिएको छ ।

कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समिति झापाको मंगलबार बसेको आपतकालीन बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए । संक्रमित ९ जनालाई रेडक्रसको एम्बुलेन्समा कोरोना अस्पताल बिराटनगर पठाइएको छ । थप ६५ जनाको पीसीआर परीक्षण गर्न स्वाब बिराटनगर लगिएको छ । थप क्वारेन्टाइनका रुपमा महेन्द्ररत्न मावि केचना, जानकी आधारभूत विद्यालय पाठामारी र लक्ष्मी मावि बनियानीलाई तयार गर्ने निर्णय भएको छ । पथरिया माविको क्वारेन्टाइनको क्षमता बढाइने भएको छ । भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण धमाधम देखा पर्न थालेपछि गाउँपालिका सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए । गाउँपालिकाभित्र सात वटा वडा रहेको छ । त्यसमध्ये ५ वटा वडा भारतसँग जोडिएको छ । ‘गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा भारतसँग जोडिएका छन् ,’ अध्यक्ष आलमले भने, ‘ भारतसँग सीमा जोडिएका स्थानबाट लुकिछिपी नेपाली नागरिक भित्रिन सक्ने भएकाले सिल गरिएको हो ।’ झापाका प्रमुख जिल्ला अधिकारी, सांसद, जनप्रतिनिधि, राजनीतिक दलसँग छलफल गरेर यस्तो निर्णय गरिएको उनको भनाई छ ।
प्रदेश सांसद वसन्त बानियाँले कचनकवलबासीलाई सुरक्षित गर्न गाउँपालिका सिल गर्नुपरेको बताए । ‘भारतबाट आउनेलाई राख्न थप क्वारेन्टाइन बनाउने बारेमा गाउँपालिकासँग समन्वय गरिरहेका छौँ,’ उनले भने ।

शनिबार भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जना नेपालीलाई पथरिया माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियोे । उनीहरू सबैको स्वाब पीसीआर परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए ।
पथरिया माविमा राखिएका व्यक्तिमा कोरोना देखा परेपछि सो क्वारेन्टाइन सिल गरिएको छ । भारतबाट आउने नागरिकलाई अन्यत्र राखिने तयारी भइरहेको छ ।स्थानीय महेन्द्ररत्न माविमा एक सय बेडको थप क्वारेन्टाइन बनाउने काम सुरु भएको छ । पथरिया माविमा ३३ र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा एक महिलासहित ६४ जना रहेका छन् । सो गाउँपालिकामा ९७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरू सबै भारतबाट आएका हुन् । लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरिरहेको छ ।
यो गाउँपालिकाको पाँच वटा वडा भारत विहार राज्यको किशनगञ्ज जिल्लासँग जोडिएको छ । खुल्ला सीमा कारण भारतबाट लुकिछिपी नेपाली नागरिक आउने क्रम जारी छ । बोर्डरसम्म आइपुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्वाध नेपाल प्रवेश गर्न दिइरहेको गाउँपालिका अध्यक्ष आलमले बताए । भने, ‘यसले सीमामा थप चुनौती देखिएको छ ।“ चारदिनको अवधिमा ९६ जना नेपाल प्रवेश गरेका छन् । मंगलबार मात्रै केचना र पाठामारी सीमामा ५० जना नेपाली आएर बसेको अध्यक्ष आलमले बताए । उनीहरूलाई अहिले नेपाली सुरक्षाकर्मीले सीमामै रोकेर राखेका छन्। क्वारेन्टाइनको व्यवस्थापन भएपछि मात्र स्वास्थ्य जाँच गराएर ल्याउने अध्यक्ष आलमले बताए ।
१० जनामा कोरोना संक्रमण फेला परेपछि प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वको टोली कचनकवल गएको थियो । सो टोलीले त्यहाँको क्वारेन्टाइन, सुरक्षा अवस्था र सीमाका बारेमा गाउँपालिका अध्यक्ष आलमसँग जानकारी लिएको थियो ।
यता संक्रमित क्षेत्र कचनकवलसँग सीमा जोडिएको भद्रपुर नगरपालिकामा बिशेष सतर्कता अपनाइएको छ । नगरपालिकाले सूचना जारी गरी नगरबासीलाई कचनकवल जान आउन प्रतिबन्ध लगाएको छ । ‘ हामीले नगरबासीलाई कचनकवल जान पूर्णरुपमा प्रतिबन्ध लगाएका छौँ’ नगर प्रमुख जीवनकुमार श्रेष्ठले भने,‘ जबर्जस्ती जानेलाई फर्किएर आउन दिने छैनौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्