शिवसताक्षी, वैशाख ७ । लकडाउनको बेला भारतबाट आएका नेपालीलाई कहाँ राख्ने भन्ने विषयमा स्थानीयबासीसँग शिवसताक्षी नगरपालिकाको विवाद शुरु भएको छ ।

शिवसताक्षी— ११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविमा नगरपालिकाले होल्डिङ एरिया बनाउने तयारी गरेपछि स्थानीयबासीहरु त्यसको विरोधमा उत्रिएका हुन् ।
एक स्थानीयवासीले भने — मानवीय स्वास्थ्यसंग प्रत्यक्ष सरोकार रहने विषयमा नगरपालिकाले लापरवाही गरेको छ । होल्डिङ एरिया परिसरमा प्रशस्तै घरहरु जोडिएको हुनाले संक्रमण फैलन सक्नेमा सचेत गराएका छौँ ।
स्थानीय समाजसेवी सन्तोष गुरुङ्ग भन्छन् ‘हामीले अभर परेका नेपालीलाई सहयोग नगरेर हुँदैंन । तर, यो नगरपालिकाले तोकेको क्षेत्र सरकारी मापदण्डभन्दा बाहिर गयो । नगरभरिको कुनै खुला क्षेत्र हेरौं, होल्डिङ एरिया बनाउनमा हामी काँधमा काँध जोड्छौं ।’
सोमबार बेलुकी नगर उपप्रमुख भोजकुमारी नेपाल, क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ११ का वडाध्यक्ष भैरबकुमार श्रेष्ठले रारआमाविलाई होल्डिङ एरिया नबनाउने भन्ने आश्वासन दिएको स्थानीयको भनाइ छ । तर मंगलबार बिहान नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा लगायत सुरक्षाकर्मीहरु विद्यालय परिसरमा आएर क्वारेन्टाइन निर्माणमा कुरा गर्दा त्यसको विरोधमा उत्रिनु परेको उनीहरुको कथन छ । उनीहरुले भने — सोमबार बेलुकी वडाध्यक्ष श्रेष्ठले अब यो विद्यालयमा होल्डिङ एरिया बन्दैन, अर्कै विकल्प खोज्छु भनेको हो । तर, किन त्यसको पालना भएन ।
यता, सोही वडाका अध्यक्ष तथा क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठ भन्छन् — दूधे माविमा राख्नका लागि सर्वदलीय बोर्ड मिटिङले निर्णय गरेको हो । यो सबैको समस्या भएकोले यसलाई अवरोध नगरेको भए राम्रो हुने थियो । उनले थपे — यो क्वारेन्टाइन नभएर भारतबाट नेपालीलाई सहजताका लागि राख्नका लागि बनाइएको एउटा प्रतीक्षा घर मात्र हो ।

त्यस्तै सोही विद्यालयका अभिभावकहरु भन्छन् — अब नानीहरुको भविष्य अन्यौलमा पर्याे । नगरको निर्णयको घोर विरोध गर्छौ । त्यस्तै परे प्रतिकार गर्छौ । उनीहरुले अर्को विकल्प भएकाले यसमा नगरपालिका उदासिन नहुन आग्रह गरेका छन् । सरकारको मापदण्ड अनुसार क्वारेन्टाइन तयार गर्दा सम्भव भएसम्म घनाबस्तीबाट छुट्टै (टाढा) रहनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्