मनिषा चम्लागाईँ । झापा, ७ जेठ
कोरोना भाइरस कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपाली पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्र्न शुरु गरेका छन् । झापाका विभिन्न नाकाहुँदै बुधबार बेलुकासम्म ५ सय बढी नेपाली नेपाल फर्किसकेका छन् ।
संघीय सरकारबाट लिखित रुपमा कुनै आदेश प्राप्त नभएका कारण भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन समस्या हुँदै आएपनि स्वःइच्छा उनीहरु नेपाल फर्किरहेका छन् । नेपाल फर्किएकालाई स्थानीय सरकार र शुरक्षा निकायको साझेदारीमा जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा राखिएको छ ।
बुधबार साँझसम्म झापाको भद्रपुर स्थित मेचीबहुमुखी क्याम्पस, कञ्चनजंगा इन्स्टीच्यूट अफ हेल्थ साइन्स बिर्तामोड, कनकाई बहुमुखि क्याम्पस सुरुङगा, मानसरोवर कलेज दमक, मदनभण्डारी प्रतिष्ठान दमक, लक्ष्मिप्रसाद देवकोटा मावि कचनकवल, जानकी प्रावि कचनकवल, महेन्द्ररत्न मावि कचनकवलको क्वारेन्टाइनमा राखिएको झापाका सायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउनु सरकारको दायित्व भए पनि लिखित आदेश नआएको राई बताउँछन् । “वैधानिक रुपमा नेपाल प्रवेश गराउन शुरु गरिएको होइन” राई भन्छन्,“हामीले पनि यति नेपाली भित्र्एि भन्ने खबर आउने गरेको छ, भित्रिएकालाई क्वारेन्टाइनमा राखिँदै आइएको छ ।”दुवै तर्फको सरकारबाट लिखित निर्णय प्राप्त नभए पछि भारतमा रहेका नेपालीलाई वैधानिक रुपमा देश फर्काउन नसकिएको राई बताउँछन् ।
झापा जिल्लाको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकवल नाका नजिक आएर अलपत्र रहेका २० हजारसम्म नेपालीलाई उद्धार गरेर सुरक्षित रुपमा ल्याउन प्रदेश सरकारले प्रक्रिया थालिसकेको प्रदेश –१का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले बताए । पूर्वीनाकाबाट नेपाली आसोर्न पौरवी यातायात एण्ड अटो प्रालिका सवारी साधन प्रयोग गरिएको छ । स्रोतका अनुसार बसको इन्धन र चालकको भत्तामात्र लिएर सहयोग स्वरुप कम्पनिले बस दिएको हो । बसमा सेटेटाइजर गरिएको छ भने आवश्यक परे सहचालकको समेत व्यवस्था गर्ने तयारी छ ।
बसको क्षमता ४० जनाको भएपनि एकपटकमा सामाजिक दुरी कायम गरी सुरक्षितरुपमा २० जनालाई मात्र ल्याउने गरिएको स्रोतले बताएको छ । यसका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई मन्त्रीले निर्देशन दिएका छन् । भारतबाट ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरिने र कोरोना नभएको निश्चित गरेर मात्र उनीहरुलाई घर पठाइने बताइएको छ । काँकरभिट्टा नाकाबाट नेपालीलाई ल्याउनु अघि बुधबार विहान सम्बन्धित सरोकारवालले काँकरभिट्टामा छलफल गरेको स्रोतले जनाएको छ । भारतमा रेल यातायात सञ्चालनमा आएपछि अलपत्र नेपालीहरु सीमा नजिक आइपुगेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्