द्रोण अधिकारी ।
भद्रपुर, जेठ १२ । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अञ्चल अस्पताललाई विकास गर्ने सरकारी निर्णय विवादमा परेको छ ।

झापाकै सुविधासम्पन्न सरकारी अस्पताल भएर पनि विपन्न समुदायको उपचार केन्द्रका रूपमा रहेको सो अस्पताललाई एकाएक कोरोना उपचार केन्द्र बनाइने निर्णय भएपछि स्वास्थ्य विमा सेवा, न्यून शुल्कमा उपचार लिने नागरिकहरू उपचार गर्न जान नसक्ने अवस्था आउँदा विवाद उत्पन्न भएको हो ।
भद्रपुर ८ नम्बर वडामा रहेको सो अस्पताललाई कोरोना अस्पतालका रूपमा विकास गर्ने निर्णय गर्नुपूर्व अस्पताल विकास समितिले जनप्रतिनिधिहरूसित समेत छलफल नगरेको पाइएको छ । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजका अनुसार कोरोना अस्पताल बनाउने निर्णय विपन्न वर्गको उपचार केन्द्र रहेको मेची अस्पतालको साख समाप्त गरेर भद्रपुर बाहिरका केही निजी अस्पतालमा विरामीको चाँप बढाउने खेल हुन सक्छ । उनका अनुसार निर्माण सम्पन्न नभएको नयाँ भवन समेत अस्पताल सञ्चालित भवनभन्दा ५० मिटर टाढा छैन ।
सीमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापना केन्द्र, एच आइ भी उपचार तथा पुनस्थापना केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र समेत ५० मिटर दुरीभित्रै पर्दछन् । यस्तो अवस्थामा अन्य विरामी उपचार गर्न कसरी आउन सक्छन् ? वडाध्यक्ष सुब्बाले प्रश्न गरे । कोरोना विशेष अस्पताल बनाउने निर्णयपूर्व जनताको सरकार वडा कार्यालयलाई जानकारी दिनु पर्दैन त ? सुब्बाले निर्णय नसच्चिए विवाद बढेर जाने प्रष्ट पारेका छन् ।

यता ५ नम्बर वडाका अध्यक्ष बन्धु कार्की विपन्न नागरिकको उपचार सेवा प्रभावित हुने गरी षड्यन्त्रमुलक ढंगले कोरोना अस्पतालको ल्याइएको बताउँछन् । वडाध्यक्ष कार्की उचित विकल्प कलवलगुडी प्रशिक्षण केन्द्रको खाली भवन हुँदाहुँदै मेची अस्पताललाई अगाडि सार्नु खेदजनक कार्य भएको तर्क गर्छन् । उनले अस्पताल आसपास बाक्लो बस्ती भएका कारण कोरोना उपचार नभएर महामारी बन्ने हुँदा निर्णय सच्याउन माग समेत गरेका छन् ।
जिल्ला समन्वय समिति झापाको समन्वयमा शनिबार बसेको सरोकारवालाहरूको बैठकले भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई १०० बेड क्षमताको कोरोना अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो । स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला नागरिकले अस्पताल बाहिरको अन्य विकल्पमा छलफल गरेर मेची अञ्चल अस्पताललाई विपन्न नागरिको उपचार केन्द्रको रूपमा रहन दिन दवाव दिइरहेका भए पनि झापाका राजनीतिक दल, प्रहरी प्रशासन लगायतको समर्थन पाएपछि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल अस्पतालको नवनिर्मित भवनलाई कोरोना विशेष उपचार केन्द्र बनाउने निर्णय गर्न सफल भएका हुन् ।
कोभिड १९ अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढीमा रहेको खाद्य संस्थानको खाली गोदाममध्ये एकलाई निर्माण गरिनु पर्ने स्थानीयको माग विपरित निर्णय आएपछि भद्रपुर ५ र ८ का स्थानीय आन्दोलित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्