सिड्नी , जेठ १२ । कोरोना भाइरस (कोभिड—१९) महामारीको उच्च जोखिममा परेको झापाको लागि अष्ट्रेलियामा रहेका झापालीहरुले सहयोग अभियान शुरु गरेका छन् ।

‘कोभिड—१९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ ’ भन्ने उद्देश्यका साथ झापाली समाज अष्ट्रेलियाले सहयोग अभियान शुरू गरेको हो । आफ्नो गृह जिल्लामा पर्ने हरेक आपतविपदमा अष्ट्रेलियामा रहेका झापालीहरुले एकत्रित भई सहयोग गर्दै आएका छन् । यसैक्रममा कोरोना महामारीका कारण समस्यामा पर्न गएका परिवारलाई सहयोग गर्ने उद्धेश्यले सहयोग संकलन अभियान थालिएको झापाली समाज अष्ट्रेलियाका सचिव अशोक उप्रेतीले जानकारी दिएका छन् । यो अभियानमार्फत संकलन गरिएको रकमले झापामा हाल संचालन भईरहेको एकका लागि एक अभियानमा सहकार्य गरिने झापाली समाज अष्ट्रेलियाका अध्यक्ष उमेश पोखरेलले बताए । साथै अन्तर्राष्ट्रिय झापाली समाजले चाँडै सार्वजनिक गर्न लागेको राहत कार्यक्रममा सहयोग गर्ने र बिपन्न परिवारलाई आवश्यक्ता अनुसार राहत पुग्ने गरी आयोजना हुने बिभिन्न कार्यक्रमलाई थप सहयोग गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । अभियानअन्तर्गत समाजले सहयोग संकलन शुरु गरिसकेको छ । चाँडोभन्दा चाँडो सहयोग संकलन गरी झापामा पठाउने तयारी संस्थाले गरेको छ ।
संस्थाले अष्ट्रेलिया निवासी झापालीहरु लगायत सबै शुभचिन्तक साथीहरुलाई यो महामारीमा केही भएपनि मर्कामा परेका बिपन्न परिवारलाई राहत मिल्ने गरी खुला मनले सहयोग गरिदिनका लागि अनुरोध गरेको छ ।

सन् २०१३ को मार्च ९ मा अष्ट्रेलियामा रहेका झापालीहरुको सिड्नीमा भएको बृहत भेलाले झापाली समाज अष्ट्रेलिया गठन गरेको थियो । त्यसयता समाजले बिभिन्न सामाजिक एवं सेवामूलक कार्यहरु गर्दै आएको छ । समाजले कन्काई आर्यघाट निर्माणका लागि ५ लाख १८ हजार १५५ रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै राष्ट्रिय लिग बिजेता बन्न सफल झापा ११ लाई २ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो । त्यसैगरी एसएलसी परीक्षामा बोर्ड फस्ट हुन सफल झापाका असिम घिमिरेलाई ५० हजार नगदले पुरस्कृत गरेको थियो । त्योसँगै राजनीतिक प्रतिनिधिहरुसँग अन्तरक्रिया, तीज मिलन, देउसी भैलो, सांगीतिक कार्यक्रमजस्ता रचनात्मक कार्यहरु झापा र अष्ट्रेलियामा गर्दै आएको अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्