बिर्तामोड ,जेठ १२ । घाटीको मेरुदण्डको मूल नशा च्यापिएर अस्पतालमा भर्ना भएका बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

शल्यक्रियापछि सघन उपचार कक्षमा राखिएका शिवाकोटीको स्वास्थ्य अबस्था सामान्य रहेको बिएण्डसी हस्पिटलले जनाएको छ । घाटीमा समस्या भएपछि उनी हिजो बिएण्डसी अस्पतालमा भर्ना भएका थिए ।
‘बिहान ११ बजेदेखि ५ घण्टा लगाएर शल्यक्रिया गरियो ’ बिएण्डसी अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजनप्रसाद पराजुलीले पे्रस नोट जारी गर्दै भनेका छन्, ‘ शल्यक्रियापश्चात् हाल उहाँको सघन उपचार कक्ष्मा राखी उपचार भइरहेको र अबस्था सामान्य छ । ’ नगरप्रमुख शिवाकोटीको शल्यक्रियामा वरिष्ठ न्यूरोसर्जन तथा डेपुटी मेडिकल डाइरेक्टर डा. पंकजराज नेपालसहित डा. रोविन भट्टराई, डा. दिनेश थापा, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ एवं अस्पतालका मेडिकल डाइरेक्टर डा. पराजुली, एनेस्थेसियोलिष्ट डा. राजु श्रेष्ठ, वरिष्ठ फिजिसियन डा. लक्ष्मण ठाकुर,वरिष्ठ क्रिटिकल विशेषज्ञ डा. निरजकुमार क्याललगायतको चिकित्सकको समूह संलग्न रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्