दमक,जेठ १४ । झापाका माइपश्चिम क्षेत्रका सञ्चारकर्मीहरुको सामूहिक कोरोना विमा पोलिसी आज हस्तान्तरण गरिएको छ ।

दमक— ८ स्थित रोजियट अंग्रेजी बोर्डिङ्ग स्कुलमा आज एक कार्यक्रम गरी विमा पोलिसी हस्तान्तरण गरिएको स्कुलका प्रिन्सिपल रुद्रप्रसाद दाहालले जानकारी दिए । स्कुलसहित दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईको सहयोगमा सञ्चारकर्मीहरुको सामूहिक विमा गरिएको आयोजक नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको अवस्थामा समेत फ्रन्टलाइनमा रहेर अहोरात्र खट्दै आएका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउन दाताको समन्वयमा रु १ लाखसम्मको विमा गरिएको उनले जनाएका छन् । सगरमाथा ईन्स्योरेन्समार्फत गरिएको बिमा नियमानुसार एक बर्षभित्र विमितलाई कोरोना संक्रमण देखिएमा उपचार खर्चवापत् १ लाख प्रदान गरिने छ ।
स्कुलकी अध्यक्ष रेगिना भट्टराई प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा सामाजिक व्यक्तित्व प्रसाई,अग्रज पत्रकार गञ्जबहादुर दाहाल,प्रेस संगठन झापाका सहसंयोजक टिकाराम उप्रेतीलगायतले सञ्चारकर्मीका लागि कोराना विमाले थोरै भएपनि जोखिम टार्न सहयोग पुग्ने औंल्याएका थिए । कार्यक्रममा स्कुलका निर्देशक सूर्य कटुवाल, जीवनचक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतम,स्कुलका सञ्चालक,शिक्षक तथा कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा व्यवसायी लोकेश सापकोटाले सञ्चारकर्मीहरुलाई माक्स वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्