वीरु दर्नाल ।

माननीय जनार्दन शर्मा
कमरेड प्रभाकरज्यू ,
अभिवादन !
भनिन्छ , मरेपछि मान्छेको हार हुन्छ । मान्छेको शरीरसँगै उसको मृत्यसँग जोडिएका जिउँदा सबै प्रमाणहरु ओझेलमा पर्छन् । बाँचेका मान्छेहरुले अनेक अड्कलबाजी गर्छन् । मुलतः त्यो अड्कलले जिउँदोलाई नै समर्थन गर्छ अनि सबै खराब जति मर्नेको थाप्लोमा जबरजस्त थोपर्ने गरिन्छ , समाजको यो एउटा विशेषता नै हो ।
यहि २०७७ जेठ १० गते तपाईको गृह जिल्ला रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा अन्तरजातीय विवाहको प्रसंगमा केटीपक्ष सुष्मा मल्लको परिवारको कुटाईबाट मृत्यु भएका प्रेमी नवराज विक तथा साथीहरु टिकाराम सुनार , गणेश बुढाको लाश भेरी नदीमा भेटिएको छ भने शरीरमा डोरीले बाँधिएको चोटसहितको अवस्थामा चार दिनपछि लोकेन्द्र सुनारको मृत शरीर भेरीमै पत्ता लागेको छ । यो पंक्ति लेखिंदासम्म अन्य दुई जना वेपत्ता छन् । नवराजहरुको हार भएको छ । मन पराएकी प्रेमीकाको साथ त यो जुनीमा उनले पाएनन् नै कल्कलाउँदो आफ्नो ज्यानसँगै हितैषी मित्रहरु कहिल्यै नफर्किनेगरी गुमाए । विडम्बना ! कथित सानो जात भएकै कारण आफ्नो एक मात्र छोरोको लास देख्नु पर्याे उनका बाबु आमाले ।
हो ! नवराज विकहरुले हारेका छन् । तर , यो पत्रमार्फत् तपाईलाई सचेत गराउन चाहन्छु की तपाईले हार्नु नपरोस् । तपाई कुनै एक निर्वाचन क्षेत्रको प्रतिनिधि मात्रै होईन । तत्कालीन जनयुद्धको उर्वरभूमि रुकुमको नायक र जनयुद्धको एक सशक्त कमाण्डर , पूर्व गृहमन्त्री एवम् पार्टीका प्रभावशाली नेता प्रभाकरसमेत हो । तपाईले संसद र बाहिर बोलेका हरेक कुराले एक विशेष अर्थ राख्ने भएकोले पुरै मुलुकले कान थापेर सुनेको हुन्छ । आफ्नै निर्वाचन क्षेत्र भएकोले घटना बारेमा संसदलाई जानकारी गराउनु तपाईको संसदीय दायित्व नै हो । तर , माननीयज्यू ! यो सन्दर्भमा तपाईले पहिलो हार ब्यहोरी सक्नु भएको छ । यो मेरो बुझाई नभएर घटनालाई नजिकबाट नियाली रहेकाहरुको हो । तपाईको प्रष्टिकरणमा माओवादी नेता नभएर कुनै एक सामन्ती नेताको बोली झल्किएको थियो । म आफू तपाईकै एक पूर्व माओवादी कार्यकर्ता र शुभेच्छुक भएकोले यसमा दुःख व्यक्त गर्दै यो पत्र लेख्नबाहेक मसँग अन्य केही उपाय छैन !
प्रत्यक्षदर्शी एवम् मारिनबाट बाँचेकाहरुको भनाई अनुसार नवराज विकहरुलाई केटीका बाबु र वडा अध्यक्ष डिल्ली मल्ल नेतृत्वको समुहले छेकाटे मारेर तीन चार किलोमिटर लखेट्दै कुटेर मारे अनि भेरी नदीमा फालिए । लाशको प्रकृतिले पनि त्यस्तै जनाएको भनिएको छ । तर , तपाईले संसदलाई जानकारी गराउँदै – लकडाउनमा हुल हुज्जत गर्न आएको समुहलाई गाउँलेले लखेट्ने क्रममा भेरीमा हाम फालेर निधन भयो । त्यसपछि तपाईले नेपाली काँग्रेसका सांसद मिन विश्वकर्मालगायतको प्रतिपक्षी नेताहरुको विरोध खेप्नु पर्याे ।

यतिबेला , जनयुद्धका पहिलो शहीद उत्पीडित समुदायका बालक दिलबहादुर रम्तेल र हजारौं शोषित पीडित नागरिककोे बलिदानीबाट १० वर्षे जनयुद्ध हुँदै गणतन्त्र आएको विर्सनु भयो , सायद । आम उत्पीडित समुदायले विर्सेका छैनन् कि जनयुद्धकै बलमा जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएसँगै सबैखाले विभेदको अन्त्य भयो । तर , एका–एक आज त्यो प्राप्ति फिका हुन थालेको छ । अन्तरजातीय विवाहको मान्यता र प्रोत्साहन जनयुद्धकालमै प्रोत्साहित बन्यो जुन समाज रुपान्तरणको एउटा कोशे ढुङ्गा थियो । तर संविधान लेखिएसँगै यी र यस्ता मान्यताहरु क्रमशः भत्किदै जान थाले । जातीय विभेद र छुवाछुतका घटनाहरु एकपछि अर्को दोहोरिरहेका छन् । सरकार र प्रहरी मुकदर्शक भएको छ । प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गर्छ । अब त अन्तरजातीय विवाहकै नाममा नवराज विकहरु मारिनु के जनयुद्ध एउटा सत्ता प्राप्तिको खेल मात्रै थियो त भन्ने सवालहरु सतहमा आएका छन् । तपाईहरुले शुरु गरेको तत्कालीन जनयुद्ध नै थियो वा जनै युद्ध ? भन्ने भ्रम पछिल्लो यो घटनाले उजागर गरेको छ ।
आज गणतन्त्र दिवसको दिन तपाईलाई पुनः स्मरण गराउँछु की ६० लाख उत्पीडित समुदायमध्ये दुई तिहाई मत वर्तमान नेकपाको छातामा गोलबन्द भएको छ । भोको पेटले खाना र नाङ्गो शरीरले नाना खोजे जस्तै सयौं वर्षदेखिको जातीय , वर्गीय , लैङ्गिकलगायतका विभेदको अन्त्य र समतामुलक समाजको सुनौलो सपना बोकेर तपाईहरुले नेतृत्व गरेको दलमा आमउत्पीडित समुदाय गोलबन्द भएकै हो । विडम्बना ! आज आएर तिनीहरुको आशा र विश्वासमा संङ्गिन रोपिएको छ । व्यवस्था फेरियो , फेरियो सत्ता तर फेरिएन हिजोको त्यो सामन्ती सोंच । यसरी नै धोका हुँदै गए ढिलो चाँडो उनीहरुमा विद्रोह पैदा नहोला भन्न सकिन्न । कम्युनिष्ट पार्टीहरु कथनी र करनीमा बेइमान बन्दै गएको तितो यथार्थको साक्षी यो समुदाय सत्ता प्राप्तिको खेलमा सधैं ढाल बन्दै आएको छ । हिजो नेकपा (एमाले)ले ढाल बनायो आज नेकपाले । घटना भएको आज पाँचौं दिन पुग्दासमेत घटनाप्रति तपाईको दल र त्यसका कुनै वर्गीय संगठनबाट घटनाबारे सत्य तथ्य छानविन गरी दोषीलाई सजाय होस् भन्ने रेडिमेड विज्ञप्तिसमेत नआउनु दुःखद् मात्रै छैन खेदजनक छ । आजसम्म घटनास्थलमा सम्बन्धित जिल्ला रुकुम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरु उपस्थित भएर सोधखोज गर्न नसक्नु कसको आदेशको पखाईमा छन् ती राष्ट्रसेवक ?
हिजो जनयुद्धकालमा यस्ता घटना भएको हुन्थ्यो त जनमुक्ति सेनाहरुले अभियुक्त डिल्ली मल्ल र आरोपित सबैलाई जनकार्वाहीको नाममा ज्यान नै लिइसकेका हुने थिए । तर , आज तपाई त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद र तपाईको दल नेकपा सरकारमा रहेको छ । निर्वाचित जनप्रतिनिधि वडा अध्यक्ष मल्लकै नेतृत्वमा कलिला युवाहरु मारिएका छन् त्यो पनि नवराजको नाम पछाडी कथित सानो जार्त विश्वकर्मा’ भएकै कारण । सत्य यो पनि हो कि नवराज विकको ठाउँमा नवराज शर्मा कोही हुन्थ्यो त त्यहाँ विवाह भोज भतेरसहितको खुशियाली रम्ने थियो ।
भनिदिनुहोस् कमरेड ! अझै कति वर्ष र आन्दोलनको नाममा बलिदानी दिनु पर्ने हो दिलबहादुर रम्तेल , नवराज विक र उनका साथीहरुले ? फेरि पनि नवराजहरुले मरेर हारेका छन् । अन्ततः घटनामा संलग्नलाई कानून बमोजिम सजाय दिलाउन उज्यालो नेपालका अभियन्ता तपाईको अहम् भूमिका रहनेमा विश्वाससहित फेरि पनि तपाईले हार्न नपरोस् र तपाईको जितमा नवराज र उनका साथीहरुको आत्माले शान्ति पाउनेछ भन्ने कामनासहित विदा चाहन्छु , धन्यवाद । जय नेपाल
तपाईको शुभेच्छुक
वीरु दर्नाल

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्