झापा, जेठ १७ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर गेटबाहिरै बस्न बाध्य भएका छन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा कचनकवलका २७ जनलाई त्यहाँ पठाइएको थियो । तिनै संक्रमित वेड अभावमा गेट बाहिरै बस्न बाध्य भएका हुन् ।संक्रमण पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर धरान लगिएको थियो । उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ‘स्वास्थ्य मन्त्रालयको समन्वयमा उनीहरुलाई धरान पठाइएको हो ’ जनस्वास्थ्य कार्यालय स्रोतले भन्यो ,‘ अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएन, जसकाकारण संक्रमतिहरु अस्पतालको गेट बाहिर बस्न बाध्य भए ।’ संक्रमित बाहिर बस्नु परेको कुरा आफ्नो जानकारीमा भर्खरै आएको उक्त क्षेत्रका प्रदेश सांसद वसन्त बानियाँले बताए । “ उहाँहरुको उपचारका लागि पहल भैरहेको छ” उनले भने,“प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अस्पतालको समन्वय उहाँहरुको उपचार छिटै सुरु हुन्छ ।” उक्त कोभिड अस्पताल एक सय वेडको हो । तर,प्रदेश — १ को चालू अधिवेशनमा सांसदहरुले ७५ वेडको मात्रै भन्ने विषय पनि उठान गरेको अवस्था छ । कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएपछि धरान र बिराटनगरमा रहेका दुई कोभिड अस्पतालमा संक्रमितको चाप छ । झापाका १०७ मध्ये २ जना उपचारपछि घर फर्किएका छन् । अन्य सबै उपचाररत रहेकाले पनि ठाउँ अभाव भएको स्वास्थ्य सम्बद्ध अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्