झापा, जेठ १७ । झापाका थप एकजनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापाका ४५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यद्धपि संक्रमित ब्यक्तिको निश्चित ठेगाना खुल्न सकेको छैन । झापा जिल्ला स्थायी ठेगाना भएर काठमाडौंमा वर्षौदेखि बस्दै आएका ब्यक्तिको काठमाडौंमै स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन जीवन चौलागाईँले बताए । उनको निश्चित स्थायी ठेगाना कुन पालिका हो भनेर पत्ता लगाउने प्रयास भइरहेको चौलागाईँले जानकारी दिए । योसँगै झापा जिल्लामा संक्रमितको संख्या १०८ पुगेको छ ।त्यसमध्ये दुईजना निको भएर घर फर्किएका छन् ।
यसैबीच एकजना संक्रमित देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको झापा गाउँपालिकाका ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज आएको रिपोर्टमा सबै ९१ जनाकै नेगेटिभ रहेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । झापा गाउँपालिकाको डिल्लीराज माविमा रहेको क्वारेन्टाइन बसेका वडा नं ४ का एक ३० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यस्तै बाह्रदशी ३ का कोरोना संक्रमितको सम्पर्कमा आएका १२ जनाको पिसिआर टेष्ट गरिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमितको परिवार र आफन्तहरुको पिसिआर परीक्षण गरिएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । बाह्रदशी गाउँपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । करीव ४५ वर्षीय ती ब्यक्ति चार दिनअघि भारतको दिल्लीबाट पन्थापाडा डिघलबैक नाका हुँदै क्वारेन्टाइनमा आएर बसेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्