मनिषा एवई राई,

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले सारा संसार प्रायः ठप्प छ । संसारभरि फैलिएको यस महामारीले लाखौंको ज्यान लिईसकेको र अरु लाखौं जीवन र मृत्युवीच संघर्षको अवस्थामा छन् । यो कहालिलाग्दो अवस्थाबाट नेपाल पनि मुक्त भने हुने सकेन । कोरोनाका कारण एक हजार भन्दाबढी नेपाली नेपालमा नै संक्रमित हुन पुगे भने केही नेपाली दाजुभाइले ज्यान पनि गुमाए । नेपालभित्रै दुई महिनाबढी समयदेखि नेपालीहरु घरभित्र बस्न बाध्य छन् । यस्तो अवस्था कहिलेसम्म जाला भन्ने अनिश्चित छ ।
विपद्को यस्तो अवस्थाले यतिखेर विश्वको अर्थतन्त्र धरासायी बन्न पुगेको छ । यसले गर्दा देशभित्रको यस्तो सकस अवस्था छँदैछ, नेपालबाहिर रहेका नेपाली पनि झनै कोरोनाको चपेटामा परेका छन् । रोजगारीका लागि विदेशको भूमिमा काम गर्दै आएका कयौ नेपालीहरुले विदेशमा नै ज्यान गुमाउनु परेको छ भने सयौं बिरामी पर्नु परेको छ । त्यस्तै,धेरैले रोजगारीवाट हात धुनु पर्ने अवस्था देखिदै गएको छ ।
अहिले नेपालमा चाहिँ कोरोनाको त्रास र चिन्तालाई पनि पछि पार्दै अर्को कलंकपूर्ण घटनाले धेरैले ध्यान तानेको छ । ध्यान मात्र तानेको छैन, नेपाल र नेपालबाहिर रहेका नेपालीलाई पनि स्तव्ध बनाएको छ । पश्चिम रुकुममा अन्तजातीय प्रेम र प्रेमपछि हुन लागेको विवाहको घटनामा परी ६ जनाको ज्यान गुम्यो । ज्यान गुम्यो मात्रै होईन, जातीय आधारलाई लिएर भएको घटनामा हत्या भयो, भोलि यो देशका कर्णाधार बन्ने युवाहरु अनाहकमा मारिए । यो कहालिलाग्दो घटनाको अहिले नेपाल र नेपालबाहिर पनि बहस भईरहेको छ । सवैले चिन्ता व्यक्त गरिरहेका छन् ।
मेरो विचारमा यो घटना एउटा सामान्य प्रेम, विवाह वा मृत्युको घटना मात्र होईन । यो एक्काईसौ शताव्दीमा आएर पनि सानो जात र ठूलो जात भनेर भएको विभेद र अनि त्यहीँ विभेदका कारण सामुहिक हत्या जस्तो बर्बर र निर्मम हत्या हुनु भनेको मानव जातिलाई नसुहाउने घटना हो । सारा संसार जात, लिंग, भूगोलका सवै विभेदलाई अस्वीकार गर्दै समुद्रभित्र शहर बनाउने, चन्द्रमामा बस्ती बसाल्नेजस्ता चमत्कार गरिरहेका बेला हामी नेपाली जात—जातको बिषयलाई लिएर मारकाट गरिरहनुले हामी कति पछाडि रहेका छौ भन्ने देखाएको छ । अझै पनि हामी यस्तै जात—जातको कुरा उठाईरहने, भेदभाव गरिरहने अनि त्यहीँ बिषयलाई लिएर को ठिक र को बेठीक भनेर बहस गरिरहने हो भने झनै पछि पर्ने निश्चित छ ।
कानुनले पनि कसैलाई जातको कारण सानो र ठूलो भनेर भेदभाव गर्न दिँदैन । मानवीयरुपमा पनि यो नसुहाउने कुरा हो । जातको बिषयलाई लिएर विगतमा भेदभाव गरिए पनि अहिले यो कानूनीरुपमा गलत सावित भईसकेको छ । यदि कसैले अझै पनि विभेद गर्छ भने त्यो सिधै कानुनी कार्वाहीमा पर्नु पर्छ । रुकुममा भएको घटना गौतमवुद्धको देश नेपाललाई नसुहाउने घटना हो । नेपालले त संसारलाई शान्तिको सन्देश दिनु पर्ने हो । तर हामी नेपाली भईसकेको घटनालाई लिएर पनि को ठिक र को बेठिक भन्दै थप शान्ति खल्बल्याउनेतर्फ लाग्दा चाहिँ नराम्रो लागिरहेको छ । तर,पीडितले न्याय पाउन पक्कै पनि ढिला गरिनु हुन्न । राज्यको निकायले यसतर्फ गंभीर बन्नैपर्छ ।
जहाँसम्म यो घटनाले एउटा उमेरका केटाकेटी जो विवाहमा जान वञ्चित बनाउन उद्धत भएको देखिन्छ । के मान्छेले मान्छेलाई माया गर्न पाउँदैन र ? कसैले कसैलाई माया गरेकै कारण मारिनु पर्ने हो र ? भन्ने गंभीर सवाल यतिखेर उव्जिरहेको छ । समाजको वहिष्करणमा परेका दलित समुदायमाथि उपल्लो जातिवाट भएको निर्मम हत्याको घटनाले सिंगो देशले एकपटक शिर झुकाउनु परेको छ साथै पीडितले जातका आधारमा यस्तो घटना सहनु पर्ने हो की भन्ने चिन्ता पनि थपिदै गएको छ ।
जातभन्दा पनि ठूलो त मानवीयता हो नि, हरेक मानिसले हरेक मानिसलाई माया गर्दा झनै मानवीयता बलियो हुने हो । तर मायालाई नै थुनछेकमा पारेर, जातको विवाद गरेर मानिस मारिने अवस्थासम्म आउँदा पनि हामीले बुझ्न सकेका छैनौ । त्यसैले म त के भन्छु भने, जसरी जातको कुरालाई लिएर युवाहरुको हत्या भयो यसको छानविन हुनुपर्छ, सवै दोषीले कार्वाही भोग्नु पर्छ । अनि आउँदा दिनमा यस्ता घटना हुन नदिन समाजका हरेक व्यक्ति जिम्मेवार बन्नु पर्छ । अनि अर्को कुरा, आखिर घटना त भईसक्यो । अब दोषीलाई उम्किन नदिन फेरि पनि जात—जातबीचमा झगडा गर्नुभन्दा सवै मिलेर पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कार्वाही गराउन एकजुट हुनु पर्छ । नेपाली— नेपाली जातजातिको कुरा निकालेर झगडा गर्ने कार्य बन्द गर्नु पर्छ र अरु विकसित देश जस्तै विकास गर्नतर्फ अघि बढ्नु पर्छ । ( दमक ६ , हाल ः संयुक्त राज्य अमेरिका)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्