झापा, जेठ १८ । लगातार जारी लकडाउनका कारण करीव ७० दिनदेखि अलपत्र भारतीयहरुलाई उद्धार गरी भारततर्फ पठाउन थालिएको छ ।

फर्किन लागेका भारतीयहरु

आँखा उपचारका लागि आएर लकडाउनका कारण बिर्तामोडको सैनिकमोड क्षेत्रमा फसेका भारतीयहरुलाई स्वदेश फर्काउन थालिएको हो ।उनीहरु त्यस क्षेत्रका विभिन्न होटल लजहरुमा बेखर्ची भएर बसेका थिए । आज पहिलो दिन १२ जनालाई गाडीमा हालेर भारतीय सीमा काँकरभिट्टासम्म छोडिएको सामाजिक अभियन्ता रामेश्वर मण्डलले बताए । बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाको पहलमा अलपत्रहरुलाई गन्तब्यतर्फ पठाउने काम भएको मण्डलले बताए । उनले मेची आँखा अस्पताल अगाडि १७ दिनसम्म निःशुल्क खाना खुवाउने कार्यक्रम राखेका थिए । स्थानीय विपन्नसँगै बेखर्ची भएका भारतीयहरुले पनि त्यहाँ खाना खाएर भोक टारेका थिए । त्यस कार्यक्रम स्थगित भएयता अलपत्र भारतीयहरुलाई उनीहरु बसेको होटल—होटलमा खाना पुर्याउने काम गरिएको मण्डलले जानकारी दिए । सैनिकमोड क्षेत्रमा अझै ५० जना भारतीय अलपत्र अबस्थामा छन् । उनीहरुलाई भोलि बिहान पठाउने तयारी गरिएको वडाध्यक्ष सिटौलाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्