गौरीगञ्ज , जेठ २१ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित वाल कल्याण मावि नजिकै भारतबाट सूर्ति तस्करले भित्र्याएको एक बोरा प्रतिबन्धित सूर्ती स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका छन् ।

स्थानीय युवा बसन्त राजवंशीसहितको युवाहरुको समुहले एक घरबाट बरामद गरेको सूर्ती स्थानीय प्रहरी चौकी कुञ्जीबारीमा बुझाएको स्थानीय खगिन काफ्लेले जानकारी दिएका छन् । त्यहाँ एक बोरा सुर्ति बरामद भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कोमल ठाकुरले पुष्टि गरे । आजै दिउँसो सूर्ति बरामद भएकाले त्यसका बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको उनले जनाए ।
स्थानीयका अनुसार सो क्षेत्रबाट लकडाउनको समयमा पनि तस्करको गिरोहले भारतको बिहार राज्यअन्तर्गतको किसनगञ्ज जिल्लामा पर्ने सिंगीमारी , डाकुपाडा, पाल्सालगायतका ठाउँबाट लालमाटी, कुञ्जीबारी, होक्कलबारी, सेतुमारी लगायतको क्षेत्र हुँदै रातारात सूर्ति भित्र्याइरहेको छ । ‘बोराका बोरा सूर्ति रातैभर भित्रिन्छ, बोर्डरमा पुलिस छ, चोक चोकमा पुलिस बस्छ कसरी यो सम्भव भइरहेको छ ? आश्चर्यको बिषय हो ’स्थानीयहरु भन्छन् । अहिले लकडाउनका समयमा पनि सूर्तिको माग उच्च भएकाले भारतीय तस्करहरुसंग सम्पर्क गरेर सूर्ति भित्र्याउने धन्दा भएको बताइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्