इन्द्रसिंह राजवंशी
झापा, जेठ २२ । झापाका पहिलो कोरोना संक्रमित बाह्रदशी ४ का मुजाहिर आलम कोरोनाको महामारीलाई जितेर घर त फर्किए , तर उनले समाजसँग हार खानुपर्यो । सामाजिक अपहेलनाको शिकार बनेका मुजाहिरले समाजका ब्यक्तिहरुको मन जित्न सकेका छैनन् ।कोरोना संक्रमणबाट पूर्णरुपमा निको भइसक्दा पनि उनी र उनको परिवारमाथिको सामाजिक बहिष्करण यथावत छ ।

कोशी अञ्चल अस्पतालको कोरोना अस्पतालबाट निको भएर ४९ वर्षिय आलम बैशाख २९ गते घर फर्किएका थिए । घर फर्किएपछि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न भनियो । उनले त्यो नियम पूरा गरेको पनि डेढ साताभन्दा बढी भइसक्यो । कोरोना संक्रमण पुष्टि हुँदा उनले विरामी भएको महसुस गरेनन् । घर फर्किएपछि उनी अझ तन्दुरुस्त भएका छन् । उनको स्वास्थ्य कमजोर भएको छ न आत्मवल नै ।तर, सामाजिक अपहेलनाका कारण उनी र उनको परिवार निराश बनेका छन् ।
स्थानीय मदरसाको हेडमास्टर रहेका मुजाहिरको शौचालय भत्केको निकै भयो । उनले त्यसका लागि आबश्यक सरसामान जोहो गरिसकेका थिए । बनाउने मिस्त्रीको अभावमा उनले शौचालय निर्माण गर्न सकेका छैनन् । उनले धेरै जनालाई भनिसके तर कोही पनि मिस्त्री उनको घरमा आउन तयार छैनन् ।‘मैले धेरैजनालाई फोन गरेर बोलाइसकँे कोही पनि आउन मान्दैन’ गुनासो गर्दे उनी भन्छन्,‘ अब त भन्न छोडिसकेको छु ।’ मिस्त्री नआउँदा उनले आफ्नो घरको झ्याल ढोका पनि बनाउन पाएका छैनन् ।
विश्वव्यापी महामारी कोरोनाबाट लाखौ मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये थोरैको मृत्यु हुने गरेको छ भने धेरैजना निको भएर घर फर्किने गरेका छन् । संक्रमणबाट मुक्त ब्यक्ति र उनको परिवारलाई समाजमा पुनस्र्थापित गराउन समस्या देखिएको छ । मुजाहिरलाई यतिखेर गाउँसमाज, छरछिमेक, आफन्त सबैले बहिष्करणमा पारेका छन् । ‘छरछिमेकको त कुरै छोडौँ’ उनी भन्छन्, ‘मेरो काका, मामालगायतका नजिकका आफन्त पनि आउन छोडिसके ।’ मुजाहिर शिक्षकसंगै खेती गर्छन् । पाकिसकेको मकै टिप्ने बेला भएको छ । खेताला नआउँदा उनलाई खेती गर्न समस्या हुने भएको छ । गाउँसमाजले हेलाको दृष्टिकोणले हेर्दा आफूलाई चित्त नबुझेको मुजाहिरकी श्रीमती सामा प्रवीणले बताइन् । छिमेकबाट छोराछोरीका लागि दुध ल्याउने गरेकोमा कोरोनापछि उनीहरुले दुध दिन छोडेको सामाले दुखेसो गरिन् । कपाल काट्ने हजाम नआइदिँदा श्रीमान र छोराछोरीको कपाल काट्न नपाएको समेत उनले दुख सुनाइन् । मुजाहिरलाई कोरोना देखिएपछि त्यसको असर उनको सिंगो परिवारमा परेको छ । मुजाहिरका भाइ समीम अख्तरका अनुसार उनीहरुलाई देख्ने बित्तिकै छिमेकीहरु पर भाग्ने गरेका छन् । मुजाहिरलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका परिवारका सदस्य, आफन्त गरी ६३ जनालाई कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगर पठाउँदा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमितलाई उपचारसँगै हौसलाको जरुरी छ । तर, मुजाहिरको परिवारले हौसला र सान्त्वनाभन्दा घृणा र तिरस्कारको सामना गर्नुपरेको भोगाइ सुनाउँछन् । त्यसबाट आफूहरु आजित भएको उनीहरुको भनाइ छ । मानिसहरुको ब्यबहार र संचारमाध्यमका कारण आफूहरुले पीडा खेप्नु परेको मुजाहिरले बताए । ‘संक्रमण पुष्टि भएको दिन बिर्तामोडको एउटा एफएमले विराटनगर नजान म मकैबारीमा लुकेर बसेको गलत समाचार प्रसारण गर्यो’उनले भने,‘ संचार माध्यमले हचुवाको भरमा समाचार लेख्दा त्यसको असर आफूले भोग्न बाध्य हुनुपर्यो ।’ उनले आफूसहित सबै पूर्व संक्रमितहरुलाई सम्मानपूर्वक बाँच्न पाउने गरी समाजमा पुनस्र्थापित गराउन आग्रह गरेका छन् ।भारत दिल्लीको मुजाहिद्दीनमा भएको मुस्लिमहरुको धार्मिक भेला तब्लिगी जमातमा सहभागी भएर मुजाहिर फागुन १८ गते घर फर्केका थिए ।फर्केर होम क्वारेन्टाइनमा बसेका मुजाहिरलाई झण्डै डेढ महिनापछि कोरोना पुष्टि भएको थियो ।त्यसपछि बैशाख १४ गते उनलाई कोरोना अस्पताल विराटनगर लगिएको थियो । करीव दुई हप्ताको बसाइमा गरिएको चारवटा टेष्ट सबै नेगेटिभ आएपछि उनलाई घर फर्काइएको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्