राजेन्द्र गौतम , झापा । सर्वसाधारणलाई कोठामा बस्न नदिएको, कोरोना संक्रमितलाई छिःछिः दुरदुर गरिएको, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट गरिएको लगायत घटना सार्वजनिक भइरहेका बेला झापामा एकजना एम्बुलेन्स चालक र उनको परिवार सामाजिक बहिष्कार सहन बाध्य भएको छ ।

आफ्नो स्वास्थ्य दाउमा राखेर कोरोना संक्रमितलाई अस्पताल पुर्याउन अग्रपंक्तिमा काम गरिरहेका एम्बुलेन्स चालकको सर्वत्र प्रशंसा भइरहँदा झापामा भने सामाजिक बहिष्कारको घटना भएको हो । कचनकवल —२ का एम्बुलेन्स चालक योगेन्द्र सिलवालले समूहमा आएका गाउँलेले घर घेरेर गालीगलौच गरेको बताए । “गाउँलेले यस्तो किन गर्नु भयो,कोरोनाले मानिस भकाभक मरिरहेको यो बेला अस्पताल पुर्याउनु मात्रै पनि धर्म हो” योगेन्द्रले भने,“ गाउँलेको यो कार्यलाई मानवीय भन्नै सकिन्न ।” गाडी निसंक्रमण गरेर,पीपीइ लगाएर, सेनिटाइजर, मास्क लगाएर एम्बुलेन्स चलाउँदा पनि ‘गाउँमा कोरोना फैलाउने भइस् ’भन्दै एकसय भन्दा बढी गाउँलेले आएर मानसिक तनाव दिएको उनले बताए । ‘कोरोना लागेका मानिस बोकेको गाडी किन गाउँमा ल्याको, ल्याउन हुँदैन, तँ पनि आउन पाउँदैनस् ’भनेर गाउँलेले धम्क्याएको योगेन्द्रले सुनाए । “ यो मानिसले मानिसलाई गर्ने व्यवहार हुनै सक्दैन र होइन” योगेन्द्र भन्छन् ,“ पशुवत व्यवहार गरियो,म मात्रै खिन्न छुइनँ, परिवारलाई नै तनाव दिइयो ।” उनले कचनकवलकै क्वारेन्टाइनमा रहेका संक्रमितलाई धरान लगेका हुन् ।

चालकका छोरा सन्दिप सिलवालले बुबा कोरोना संक्रमितलाई अस्पताल पुर्याउन गएपछि स्थानीयले दुर्व्यवहार गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले अहिलेको विषम परिस्थितिमा एम्बुलेन्स चालकको मनोबल उच्च बनाउन सहयोग गर्नु पर्नेमा गाउँले एकजुट भएर सामाजिक बहिस्कार गर्नु दुःखलाग्दो भएको बताए । योगेन्द्रले कचनकवल – २ को श्रीकृष्ण प्रणामी मन्दिरद्वारा सञ्चालित मे १ छ २२५७ नम्बरको एम्बुलेन्स २० महिना अघिदेखि चलाउँदै आएका छन् । प्रदेश १ मै कोरोना संक्रमणको ‘हटस्पट’ बनेको कचनकवलको स्थानीय भएको नाताले पनि संक्रमितलाई अस्पताल पुर्याउनु पर्ने बाध्यता छ । तर, कोरोना संक्रमितलाई अस्पताल लाँदा स्थानीयको अपमान सहनु गरेको सन्दिपले दुखेसो गरे । सिलवाल परिवारले किनमेल गरेको पसलमा अरु छिमेकी जान छोडेको, डेरीमा दूध पुर्याउन अबरोध गरिएको छ । सन्दीप भन्छन्, “ बुबाले कोरोना संक्रमित बोक्दा हामीमाथि विभेद भयो, अरु कोही पनि एम्बुलेन्स चालकले यस्तो दुर्व्यवहार भोग्नु नपरोस् ।“
प्रहरी र स्वास्थ्यकर्मीले प्रतिवाद गरेपछि स्थानीयबासी पछि हटेका थिए । घटनालाई लिएर स्थानीय प्रहरी कार्यालयमा छलफल भएको छ । जिल्ला प्रशासनले चालकको घर घेराउ गर्ने, दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने तयारी गरेको थियो । तर, गाउँलेले चालक र उनको परिवारसँग माफी मागेपछि छाडिएको छ ।
हामीलाई अपमान र दुर्व्यवहार गरेपनि गाउँलेलाई माफ गरिदिएको योगेन्द्रकी श्रीमती टिका सिलवालले बताइन् । “ उहाँहरुले जे गर्नु भयो,त्यसलाई कसैले राम्रो भन्दैन ” उनले भनिन् , “ महामारीको यो बेला कारबाही होइन,सामाजिक सद्भाव कायम राख्नु पर्छ भन्ने सोचेर माफ गरिदियौँ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्