मेचीनगर,तिरिङ जेठ २४ । स्थानीय तह र सरकारी बेवास्तापछि झापामा स्थानीयले व्यवस्थित क्वारेन्टाइन चलाएर उदाहरण प्रस्तुत गरेका छन् ।

मेचीनगर नगरपालिका—१ तिरिङको पवित्रा क्वारेन्टाइन सञ्चालनमा वडा कार्यालय पन्छिएपछि स्थानीयले क्वारेन्टाइन सञ्चालनको जिम्मेवारी लिएका हुन् । अहिले सो क्वारेन्टाइनमा २४ जना बसिरहेका छन् । उनीहरूलाई सरकारी मापदण्डअनुसारको सुविधा उपलब्ध गराइएको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक सञ्जय निरौलाले बताए । स्थानीयले व्यवस्थापनको जिम्मेवारी लिएपछि आर्थिक, खाद्यान्न, सरसफाइ, आपूर्ति, सुरक्षालगायतका समिति बनाएर जिम्मेवारी बाँडफाँड गरिएको छ । सुविधायुक्त शौचालय, भेटघाट बाटिका र प्रतीक्षालय निर्माण गरी क्वारेन्टाइनमा बस्ने र त्यहाँको अवस्था बुझ्न आउनेलाई सेवासुविधा उपलब्ध गराइएको छ । क्वारेन्टाइनमा स्वच्छ पानी, सुत्नेबस्ने राम्रो व्यवस्था गरिएको छ । प्रत्येक टोल समितिले १० — १० हजार रुपैयाँ उपलब्ध गराए मात्रै क्वारेन्टाइन चलाउन सकिने भनेर वडा सरकार पन्छिएपछि क्वारेन्टाइनको जिम्मा स्थानीयले लिएका हुन् । त्यहाँ बसेका व्यक्तिलाई बाहिर तयार गरेर पार्सलमार्फत खाना उपलब्ध गराइने गरेको छ । क्वारेन्टाइनमा बसेकालाई पर्याप्त मास्क र पञ्जासमेत उपलब्ध गराइएको छ । क्वारेन्टाइन सञ्चालन गर्न अहिले मुष्ठीदानको सहायता लिइएको छ । बिहानभर क्वारेन्टाइनमा बसेकालाई खानाको प्रबन्ध गरिसकेपछि दिनभर चामल, तरकारी लगायतका सामग्री जुटाउन गाउँ जाने गरेको संयोजक निरौलाले बताए । एकसाता अघिदेखि व्यवस्थापनको जिम्मेवारी लिएको समितिले सहयोगका लागि अपिलसमेत गरेको छ । क्वारेन्टाइन व्यवस्थापननका लागि लीलाप्रसाद न्यौपानेको संयोजकत्वमा गठित सल्लाहकार समिति, नवीन न्यौपाने संयोजक रहेको आर्थिक,देवेन्द्र थापा मगर संयोजक रहेको सुरक्षा ,ज्ञान पुरी संयोजकत्वको समिति सक्रियतापूर्वक लागेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्