सिड्नी, जेठ २५ । कोरोना महामारी रोकथामका लागि गृह जिल्ला झापालाई १६०० भिटिएम किट उपलब्ध गराएको प्रवासी झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याबको लागि मेशिन प्रदान गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजको आज सम्पन्न भर्चुअल बैठकले पिसिआर ल्याबको लागि चाहिने मेशिन किन्न आबश्यक सहयोग गर्ने निर्णय गरेको हो । त्यस कार्यको लागि बरिष्ठ उपाध्यक्ष दिपक खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । मेशिनका लागि ३० लाख नेपाली रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढेसंगै कोरोना रोकथामको लागि सहारा नेपालको अगुवाइमा संचालन भइरहेको एकका लागि एक अभियानमार्फत् पिसिआर ल्याब स्थापनाका लागि सहयोग गर्ने बैठकमा छलफल भएको थियो । करीव १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पिसिआर ल्याबमा के कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्न अन्तर्राष्ट्रिय झापाली समाजको बैठक बसेको थियो । मध्य पूर्व, ओसिनिया, एसिया तथा युरोपका अन्तर्राष्ट्रिय झापाली समाजका प्रतिनिधिहरुले बैठकमा भाग लिएका थिए । झापा नेपालकै एक प्रमुख नाका भएका कारण सो नाकाबाट नेपाल आउने नेपालीको संख्या उल्लेख्य हुने भएकाले झापामा पिसिआर ल्याबको आवश्यकता टड्कारो रुपमा देखिएको आबश्यकता महसुस गरिएको थियो । त्यसका लागि एउटा ल्याब स्थापना गर्नसके कोरोना रोकथामको लागि झापामा मात्र नभएर १ नं. प्रदेशमै केही योगदान हुने र नेपालमा कोरोना छिटो फैलनबाट रोक्न सकिने बिश्वास लिइएको थियो । अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थासंग सहकार्य गरेर छिटोभन्दा छिटो यो कार्य सम्पन्न गर्न आफू लागिपरेको बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक खनालले बताएका छन् ।उनले अस्ट्रेलियामा रहेका सम्पूर्ण दानवीर तथा दयालु नेपालीहरुलाई कम्तीमा १० डलर सहयोग गर्न अनुरोध गरेका छन् । यसक्रममा झापाली समाज अस्ट्रेलियाका अध्यक्ष उमेश पोखरेलले अन्तर्राष्ट्रिय झापाली समाजको यो महान कार्यमा झापाली समाज अस्ट्रेलियाले .सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणमा झापालाई सहयोग गर्ने अठोटका साथ अन्तर्राष्ट्रिय झापाली समाजले प्रथम चरणमा जिल्लाका १५ वटै पालिकाहरुलाई १६०० भिटिएम किट लगायत अन्य उपकरणहरु प्रदान गरेको छ । त्यस कार्यमा प्रत्यक्षरुपमा संलग्न भएका अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेललाई बैठकले धन्यबाद दिएको छ । पोखरेल नेतृत्वको टोलीले तीन दिनदेखि जिल्लाका सबै पालिकाको कार्यालयमा पुगेर भिटिएम किट प्रदान गरेको थियो । वरिष्ठ उपाध्यक्ष खनालले अध्यक्षता गरेको सो बैठक संस्थाका अध्यक्ष छत्र सुब्बाले समापन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्