भद्रपुर, जेठ २५ । नेपाली काँग्रेस भद्रपुर नगर समितिले भद्रपुर नगरपालिकाले कोरोना संक्रमण जोखिम नियन्त्रणमा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ ।

नगर समितिको बैठकले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट नआई नगर प्रमुखले त्यस्ता व्यक्तिलाई घर—घर छोडेर संक्रमण त्रास फैलाएको आरोप लगाएको हो । बैठकले मुख्य दोषी पत्ता लगाई कारवाही गर्नु पर्ने समेत माग गरेको छ ।
नगर सभापति मोहन महर्जन तथा गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेद्वार गणेश पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ—भद्रपुर १० कलवलगुडीस्थित क्वारेन्टाइनमा बसेका भद्रपुर नगरक्षेत्र र कचनकवल गा.पा.का गरी ९ जना व्यक्तिहरूमध्ये ६ जनाको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मिति २०७७ जेठ २१ गते कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आउँछ । तर, सो क्वारेन्टाइनमा रहेका सबै ९ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको भनी स्वयं नगर प्रमुख जीवनकुमार श्रेष्ठकै अग्रसरतामा उहाँहरू ९ जनालाई नै क्वारेन्टाइनबाट बाहिर ल्याई नगर प्रमुख आफैले गाडीमा राखी गन्तव्य स्थलसम्म पुर्याउनु गम्भीर त्रुटि तथा गैरजिम्मेवार घटना प्रष्ट देखिएको तथ्य हो ।
यस्तै विज्ञप्तिमा कोरोना महाव्याधिले निम्त्याउने संकटबाट नगर र सिंगो समुदायलाई बचाउन नगर प्रमुख र सिंगो नगरपालिकाले खेल्ने भूमिकालाई साथ दिन नेपाली कांग्रेस खुल्ला हृदयले तयार रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्