शिवसताक्षी, जेठ २६ । अब शिवसताक्षी क्षेत्रका सबै प्रकारका पसलहरु ६ घण्टा खुल्ने भएका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि विगत ७६ दिनदेखि गरिएको लकडाउन शिवसताक्षी नगरक्षेत्रमा खुकुलो हुने भएको हो ।
आइतबार शिवसताक्षी नगरपालिकासको कार्यालयमा कोरोना रोकथाम समन्वय समिति, इलाका प्रहरी कार्यालय झिलझिले तथा शिवसताक्षी उद्योग वाणिज्य संघको संयुक्त बैठकले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म सवै प्रकारका पसलहरु खुलाउने निर्णय गरेको हो ।
शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनालीका अनुसार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म लकडाउनलाई खुकुलो बनाउने निर्णय भएसंगै प्रत्येक पसलहरुमा नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षाका विधिहरु सावुन पानी, माक्स, सेनिटाइजर आदिको व्यवस्था गरी भीडभाड नगराइ व्यापार व्यवसाय गर्न अनुरोध गरिएको छ । उनका अनुसार शैक्षिक संस्था, होटल, मठमन्दिर, जिम खाना, सिनेमा हललगायत सामुहिक जमघट हुने स्थानहरु भने खुल्ने छैनन् । त्यस्तै आइतबारै बसेको बैठकले माइपश्चिमका स्थानीय तहहरु मिलेर पिसिआर मेसिन खरीद गर्ने विषयमा समेत मौखिक सहमति भएको मैनालीले बताए ।
यसका साथै नगरले प्रतिनिधिमुलक ढंगले ६५ जनाको स्वाब निशुल्क परीक्षण गर्ने बताएको छ । जसमा कोरोना भाइरस रोकथाम समन्वय समितिका ९ जना, इलाका प्रहरी कार्यालय र त्यसका मातहतमा रहेका प्रहरी कार्यालयका अग्रपंक्तिमा रहेर कार्य गर्ने २० सुरक्षाकर्मी, स्थानीय स्वास्थ्यकर्मी १५ जना, सञ्चारकर्मी ५ जना, ११ वटै वडाका वडाध्यक्ष र नगरका कर्मचारी ५ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्