दमक, जेठ २६ । दमकमा दोश्रो ठूलो जनसंख्याका रुपमा रहेको लिम्बु समुदायका अगुवाले विद्यालय तहमा लिम्बु भाषा पठनपाठनका बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

लिम्बु जातिका सामाजिक संस्था किरात याक्थुङ्ग चुम्लुङ दमकका एक टोलीले नगरपालिका पुगेर त्यसवारे स्थानीय सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष देवेन्द्र चेम्जोङले बताएका छन् ।
चुम्लुङले गत पुस ९ गते दमकमा विद्यालय तहमा लिम्बु भाषा पठनपाठन गर्न भाषिक अगुवा सेसेहाङ फियाकको संयोजकत्वमा ११ सदस्यीय लिम्बु भाषा सहजीकरण उपसमिति गठन गरेको थियो । त्यही उपसमितिको अगुवाईमा भाषा पठनपाठनका बारे स्थानीय सरकारसंग प्रस्तावना पेश गरिएको हो ।
सो व्यहोराको प्रस्तावनापत्र नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरिएको थियो । प्रस्तावनापत्र बुझ्दै नगर प्रमुख ओलीले संविधानमा उल्लेख भएअनुसार स्थानीय सरकारले भाषिक नीति वनाएर काम थाल्ने आश्वासन दिए ।
चुम्लुङको टोलीमा नगर अध्यक्ष चेम्जोङसहित चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती, भाषिक अगुवा शेसेमी से नाल्वो, सेसेहाङ फियाक, चुम्लुङ दमकका पूर्व अध्यक्ष गुमानसिंह सम्बाहाम्फे लगायत रहेका थिए ।
नगरपालिकाले गत २०७५ सालमा निकालेको नगर प्रोफाइलमा नगरका २३ वटा सामुदायिक विद्यालयहरुमध्ये लिम्बु भाषा पठनपाठन गर्न गराउन संभावना रहेका ८ वटा विद्यालयमा ऐच्छिक पठनपाठनको रुपमा व्यवस्था गरिदिन माग गरिएको प्रस्तावना पत्रमा उल्लेख छ । दमकका १० वटै वडामा लिम्बु जातिको बसोवास छ । तीमध्ये कुल जनसंख्याको ९ प्रतिशत अर्थात ८ हजार ३ सय ४७ लिम्बु जाति बसोवास रहेको र त्यसमध्ये ३ हजार एक सय ५७ जना अर्थात ३.६३ प्रतिशतले लिम्बु भाषा बोल्ने गरेको नगरपालिकाको प्रोफाइलमा जनाईएको छ । नगरपालिकाको जनसंख्या कुल ८६ हजार ८सय ९० छ । दमकमा नेपाली भाषापछि दोश्रो ठूलो भाषा र जनसंख्या लिम्बुको रहेको छ ।
लिम्बु भाषा पठनपाठन गर्न सकिने विद्यालयहरु
चुम्लुङको लिम्बु भाषा सहजीकरण उपसमितिले दमकका ८ वटा विद्यालयमा लिम्बु जातिको भाषा श्रीजंगा लिपी पठनपाठन गर्न सकिने औंल्याएको छ । लिम्बु जाति बाहुल रहेका वडाका विद्यालयमा ऐच्छिक भाषाको रुपमा पठनपाठन गर्न सकिने उपसमितिका संयोजक फियाकले बताए ।
जसअनुसार दमक ७ को पृथ्वी मावि, दमक ८ को जनता आधारभूत विद्यालय, दमक ९ को सरस्वती मावि, दमक ५ को दिपिनी आधारभूत विद्यालय , दमक ५ को कृष्ण आधारभूत विद्यालय,दमक ३ को चुलाचुली आधारभूत विद्यालय, दमक २ को हिमालय मावि र दमक १ को भृकुटी आधारभूत विद्यालयमा लिम्बु भाषा पठनपाठन गर्न सकिने प्रस्तावनामा उल्लेख छ । त्यसमध्ये २०६७ सालदेखि भने पृथ्वी माविमा विद्यालय र स्थानीयको प्रयासवाट ऐच्छिक विषयका रुपमा लिम्बु भाषाको पठनपाठन हँुदैआएको छ । उपसमितिले त्यस विद्यालयमा दरवन्दी दिएर भाषा पठनपाठन नियमित हुने वातावरण गरिदिन समेत माग गरेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्