गोठगाउँ (मोरङ) जेठ २६ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँमा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनलाईनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको बताए । संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले त्यस्तो व्यवस्था गरिएको हो । उनले भने ,‘ संक्रमितले वेड वुक गरेपछि वेड नम्बर र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।’ संक्रमण देखिएको स्थानबाट एम्वुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने गरिको व्यवस्थापन मिलाएको पनि मन्त्री घिमिरेले बताए। अनलाईन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । सोही टिमले अनलाईन भर्नाको व्यवस्थापन गर्ने भएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
मोरङको सुन्दहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा संक्रमितको उपचार शुरु भएपछि सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका अस्पताल महाशाखा प्रमुख सागर प्रसाईंलगायतले उपचार केन्द्रको अनुगमन गरेपछि त्यस्तो बताइएको हो । मन्त्री घिमिरेले पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेनाका मेजर, अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
शुक्रबारदेखि सञ्चालनमा आएको गोठगाउँ कोरोना उपचार केन्द्रमा ५४ जना उपचाररत रहेका छन् । उपचार केन्द्रमा अहिले ७४ वेड तयार गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले थप ५१ वेडको तयारी गर्न निर्देशन दिएका छन्। ५१ वेड थपिएपछि गोठगाउँमा १२५ वेड तयार हुने छ ।
संक्रमितको उपचारमा पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । सामाजिक विकास मन्त्रालयले समग्र व्यवस्थापकीय र चिकित्सकीय कामका लागि मेडिकल अफिसर डा. रोहित भण्डारी र अधिकृत धरणी निरौलालाई खटाउने भएको छ । मन्त्रालयले अस्पतालमा एउटा एम्वुलेन्सको पनि प्रबन्ध गर्दैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्