झापा , जेठ २६ । झापाका १० जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरीगञ्ज गाउँपालिकामा ७, हल्दिबारीका स्थानीय एक र पाँचथरको लालीखर्क गाउँपालिका घर भई हल्दिबारीको क्वारेन्टाइनमा बस्दै आएका एकसहित २ र मेचीनगर नगरपालिका–४ स्थित पशुपति माविको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज मात्रै झापामा १०जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमण पुष्टि भएका सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति हुन् ।
झापाका १५० संक्रमितमध्ये ४१ जना उपचारपछि घर फर्किएका छन् । तीमध्ये सबैभन्दा बढी कोरोना देखिएको कचनकवलका ३८, बाह्रदशीका दुई र दमक नगरपालिकाका एकजना रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकन पर्सन जीवन चौंलागाईंले बताए ।
आज नयाँ दशजना कोरोना संक्रमित देखिएकामध्ये दुईवटा नयाँ स्थानीय तहका छन् । मेचीनगर र हल्दिबारीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १५ वटा स्थानीय तहमध्ये कोरोना संक्रमण देखिने स्थानीय तहको संख्या १२ पुगेको छ ।
झापाका मेचीनगर, हल्दिबारी, कचनकवल, भद्रपुर, बाह्रदशी, झापा गाउँपालिका, बुद्धशान्ति, कमल, गौरीगञ्ज, गौरादह गाउँपालिका, दमक र अर्जुनधारा नगरपालिकामा कोरोनाको संक्रमण देखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्