दमक, जेठ २७ । यहाँस्थित दमक उद्योग वाणिज्य संघले कोरोना संक्रमणसंगै घोषणा गरिएको लकडाउनका कारण स्थानीय उद्योग व्यवसाय तथा समग्र नीजि क्षेत्र नै अस्तव्यस्त भएको भन्दै दमक नगरपालिकासंग पाँच वुँदे विभिन्न व्यावसायिक माग राखेको छ ।

संघको अगुवाई तथा विभिन्न व्यावसायिक संघसंगठनका प्रतिनिधिहरुले लकडाउनका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी आज स्थानीय सरकारसंग पाँच वुँदे व्यावसायिक मागपत्र पेस गरेका हुन् । मागपत्र नगरपालिकाकी उपमेयर गीता अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
व्यवसायीहरुको संस्थासहित नेपाल घरवहाल उपभोक्ता हकहित संघ र व्यावसायिक प्रयोजनका लागि घरभाडा लगाउने घरधनीहरुको संस्था नेपाल घरभेटी संघका प्रतिनिधिहरु समेतको सहभागितामा हिजो छलफल गरी सुझावसहितका पाँच बुँदे माग पेस गरिएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
छलफलमा सम्पति कर,व्यवसाय कर एवं घरवहाल कर छुट गर्नका निमित्त अनुरोध गर्ने , विभिन्न वैक तथा वित्तीय संस्थाहरुवाट लिएको ऋणको वैक व्याजदर शैक्षिक शुल्क, विद्युत,खानेपानी, टेलिफोन लगायतका महशुलमा छुटको व्यवस्था गर्न अनुरोध गर्ने , हालको समस्यालाई सहजरुपमा समाधान गर्नका निम्ति दुवै पक्षलाई सहज हुने गरी स्थानीय सरकारवाट नीति निर्माण गरी कार्यान्वयन गराउन अनुरोध गर्ने उल्लेख छ ।
यसैगरी मागपत्रमा घरधनी र घरवहालवीच बेलाबेला उत्पन्न हुने समस्याको विषयमा कुनै पनि बैठक तथा छलफलमा प्रतिनिधिमूलक घरभेटी , घरबहाल र व्यावसायिक संघसंस्था समेतको सहभागितामा मात्र निर्णय हुने व्यवस्था मिलाउन अनुरोध गर्ने, बहालकरको समस्यालाई दीर्घकालीन समाधानका लागि यथार्थ भाडादर कायम गराई बहालको दरलाई घटाई न्यूनतम १ प्रतिशत वहालकर कायम गर्दा करको दायरा समेत वढ्न गई राजश्व संकलनमा बृद्धि हुने हुँदा सोअनुसार गर्न सुझावका रुपमा पेस गर्ने निर्णय बमोजिम माग गरिएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
मागपत्र बुझाउन संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसार्इँ, घरभेटी संघका अध्यक्ष मेहेरमान लिङदेन, घरबहाल उपभोक्ता हकहित संघका सिताराम खतिवडा लगायत सरोकारवालाहरु गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्