झापा, जेठ ३१ । भारतद्वारा अतिक्रमित नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले निशान छापमा भारतबाट अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो ।
बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए भने विधेयको विपक्षमा शून्य मत परेकोले संशोधन विधेयक दुईतिहाइभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । यसअघि, बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् । दफावार छलफलमा सहभागी सांसदहरुका जिज्ञासाको जवाफ दिँदै कानुनमन्त्री तुम्बाहाङफेले नेपालको इतिहास र संसदीय इतिहासमा गौरवमयपूर्ण दिन भएको बताइन् । विधेयकविरुद्ध समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख सापकोटाले खारेज गरेका थिए । आफ्नो प्रस्ताव खारेज भएपछि सांसद गिरी भने बैठकबाट बाहिरिएकी थिइन् । सरकारले गत जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न जेठ ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्