मनिषा चम्लागाईँ झापा, ३२ जेठ ।सरकारले गत वर्ष झापाको झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन घोषणा ग¥र्यो । मकै जोन घोषण भएसँगै यसवर्ष त्यहाँका किसानले अझ हौसिएर गतवर्ष भन्दा धेरै जमिनमा मकै खेती लगाए ।
पर्याप्त आम्दानी गर्ने उद्देश्यले किसानले उत्साहका साथ मकै रोपेका थिए । बाली पनि उत्कृष्ट थियो । त्यो बेला किसानको खुशीको सिमा थिएन । अझ भूमिगत सिंचाईबाट एक पटक मात्र पानी लगाए । समय समयमा पानी परेपछि उनीहरु अझ उत्साहित थिए । तर, जब मकै पाक्ने बेला भयो त्यो बेला अत्याधिक पानी परेपछि उत्पादन भएको मकै उनीहरुका लागि घाँडो भएको छ । गत वर्ष भने झापाको झापा गाउँपालिका र कनकाई नगरपालिकाका किसानले ८७ करोड रुपैयाँ बराबरको मकै बिक्री गरेका थिए ।
“अत्याधिक वर्षा भएपछि अपेक्षित मकै फलेन, फलेको पनि कुहिएर जाने अवस्थामा छ” झापा गाउँपालिकाका —६का कृषक डिल्लिराम बाँस्कोटाले भने, “मकै थन्क्याउने ठाउँको अभाव छ, उत्पादित फसल अधियाँमा संकलन गर्ने मान्छे खोज्दा पनि किसानले पाएका छैनन् ।” उक्त क्षेत्रका किसानले गत वर्षभन्दा बढी क्षेत्रफलमा मकै लगाए पनि यस वर्ष औषतमा ५० प्रतिशत मात्र उत्पादन भएको किसान बताउँछन् ।
बाँस्कोटाले गत वर्ष १ विगाहमा २ सय मन मकै उत्पादन गरेका थिए । यस वर्ष २ विगाह क्षेत्रफलमा २ सय ५० मन मात्र मकै उत्पादन भएको बाँस्कोटा बताउँछन् । त्यसमा पनि १ विगाहको मकै खेतमा नै पानीमा डुबेको छ । मकै भाँच्ने समयमा आएको हावाहुरी र पानीले खेतमा नै मकै डुबेकाले उत्पादन घटेको हो । “एक विगाहमा मकै लगाउन ५० हजार रुपैयाँसम्म खर्च हुन्छ, अहिले व्यापारीले प्रतिक्विन्टल १९ सय रुपैयाँ दिँदै आएका छन्, आफ्नो श्रम पनि जोड्ने हो भने नाफा होइन घाटा हुन्छ ।” गत वर्ष प्रतिक्विन्टल ३२ सय रुपैयाँसम्म मकै बिक्री गरेका किसान यस वर्ष उचित मूल्य पाउन नसकेको दुखेसो गर्छन् । गत वर्ष अन्य वर्षभन्दा बढी मूल्य पाएर उत्पादन बढाए पनि यस वर्ष कम मूल्य पाएको बाँस्कोटाले बताए ।
पोहोर साल राम्रो मूल्य पाइएकै कारण भारतबाट हाइब्रिड बीउ ल्याएर मकै लगाएका कृषक यस वर्ष हावापानी र बजार अभावको चपेटामा परेको मकै जोन कार्यक्रमका संयोजक चन्द्र पाठक बताउँछन् । “लामो समयदेखि बाँझो रहेका जमिनमा यस वर्ष कृषकले मकै लगाएका थिए” पाठकले भने, “क्षेत्रफल बढे पनि उत्पादन बढेन ।” पाठकले अढाइ विगाहमा मकै लगाए पनि गत वर्षको तुलनामा ३० प्रतिशत उत्पादन घटेको जनाए । झापाको झापा गाउँपालिका र कनकाई नगरपालिकाका नेपालकै अत्याधिक मकै उत्पादन हुने क्षेत्र हो ।
झापामा उत्पादित मकै विरगंञ्ज, धनगढी, काठमाडौँ, भरतपुर पोखरा लगायत क्षेत्रमा जान्छ । कुखुरा, पशु, माछाको दानाका लागि बढी बिक्री हुने झापाको मकै, चाउचाउ, वियर, विस्कुट लगायत उद्योगले खरिद गर्ने गरेको व्यापारीले बताउँछन् । कृषकले लकडाउनका कारण उचित मूल्य नपाएको बताउँदै आएका छन् । व्यापारी भने, मकैको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहने हुनाले यस वर्ष मूल्य घटेको दाबी गर्छन् ।
चालू आर्थिक वर्षदेखि झापामा मकै जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित मकै जोन झापा गाउँपालिका र कनकाई नगरपालिकामा सञ्चालनमा ल्याइएको हो ।
मकै जोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट १ करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन इकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए । झापा गाउँपालिका– ६ र कनकाई नगरपालिका–५ मा गरी ५ सय हेक्टर क्षेत्रफलमा मकै जोन सञ्चालन गरिएको सुवेदीले बताए । झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकले देखाउँछ । मकै जोन सञ्चालनमा आएपछि उन्नत जातको मकै उत्पादन, समूहमा मकै खेती सुरु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्