विराटनगर, असार १ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेस गरेको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार रुपैयाँ अर्थात् ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ रहेको छ । यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ । गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, आन्तरिक राजस्वमा आएको संकुचन तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड वापतको रकम पनि कम भएकोले चालू आर्थिक वर्षको बजेट ३३ अर्ब मात्रै उपलब्ध हुने प्रदेश सरकारको संशोधित अनुमान छ । आगामी बजेटको लागि संघीय सरकारबाट प्राप्त हुने स्रोत मात्र संकुचन भएको छैन , चालू आर्थिक वर्षमा प्रदेशको राजश्व संकलन पनि प्रभावित भएको छ । प्रदेश सरकारले ३ अर्ब ८६ करोडको आन्तरिक राजस्व उठ्ने अनुमान गरेकोमा त्यो सवा अर्बमा खुम्चिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्