भद्रपुर , असार २ । विभिन्न व्यवसाय, रोजगार एवं अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले भद्रपुर नगरपालिकालाई क्वारेन्टाइनका लागि ५० थान विद्युतीय केटली तथा सिसाका गिलास प्रदान गरेको छ ।

सहयोग ग्रहण गर्दै

भद्रपुरस्थित विदुर वोडिङ्ग स्कूलमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा सहयोग सामग्री ग्रहण गर्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठले आफ्नो मातृभूमिलाई यो संकटको घडीमा सहयोग प्रदान गर्ने झापालीहरुले तन विदेसिए पनि मन झापामै रहेको कुरा प्रमाणित गरिदिएको बताए । उनले अनेक दुःख गरेर कमाएको पैसा समाजका निम्ति पठाएर झापाली समाजले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिए । उपमेयर चन्द्रा श्रेष्ठले विदेश बस्ने झापालीको देशप्रतिको माया उदाहरणीय भएको भन्दै धन हुनेहरुलाई मन फराकिलो बनाउन उदाहरण पेस गरेको बताइन् । समाजका अध्यक्ष उमेश पोखरेलले फोनमार्फत झापाली समाज आवश्यक सहयोग गर्न सधै तत्पर रहेको बताए । उनले निरन्तर सहयोगको यो एक अंश भएको धारणा राखे । कार्यक्रममा विदुर बोडिङ्ग स्कूलकी प्रिन्सिपल मणिदेवी भट्टराई ,समाजसेवी वासुदेव पोखरेल, झापाली समाज अष्ट्रेलियाका सदस्य भिष्म ओली उपस्थित थिए । विद्यालयका सञ्चालक राजन भटराईले सामान ब्यवस्थापन गरेका थिए । कार्यक्रमको सञ्चालन झापाली समाजका सल्लाहकार कर्ण राजवंशीले गरेका थिए।

बाढी होस् अथवा भुकम्प हरेक विपद्मा झापाली समाजले प्रत्यक्षरूपमै जिल्लावासीहरुलाई सहयोग गर्दै आएको छ । समाजले ‘एकका लागि एक’ अभियानअन्तरगत २ हप्ता अघि पिसिआर परीक्षणका लागि १ लाख वरावरको सामग्री प्रदान गरेको थियो । कचनकवल गाउँपालिका— ६ मा रहेका ७० विपन्न परिवारको लागि ७२ हजार रुपैयाँ वरावरको खाद्य सामग्री वितरण गर्नुका साथै मेचीनगर नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई पनि केही दिनभित्रै आवश्यक सहयोग गर्ने योजना रहेको समाजका उपाध्यक्ष अशोक ओलीले बताए। बिर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा रहेका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने झापाली समाजले घोषणा गरेको छ ।

राहत सामग्री

अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको पिसिआर मेसिन प्रदान गर्ने अभियानलाई पनि आफ्नो तर्फबाट उल्लेखनीय सहयोग गर्ने समाजका सचिव अशोक उप्रेतीले जानकारी दिए। यो सहयोग अभियान लगायत हालसम्म आवश्यक परेका बेला जहिले पनि साथ दिई सहयोग प्रदान गर्ने सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई समाजको तर्फबाट कोषाध्यक्ष नविन थपलियाले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्