भद्रपुर, असार ४ ।
सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांस कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ ।

चैत्र ११ गतेबाट अधिकांस सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको झापा सदरमुकाममा सरकारी कार्यालयले सेवा दिन थालेपछि चहलपहलसँगै सडकमा पनि सवारी चाप बढेको छ ।
सरकारले कोभिड–१९ जोखिमबाट नागरिक बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सम्पूर्ण कार्यालयका सेवा अबरुद्ध थिए । बन्द रहेका अधिकांस कार्यालयहरू खुलाउने सरकारी निर्णयसँगै सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरू सञ्चालनमा आएका हुन् ।
सरकारी कार्यालय सञ्चालनमा आएपछि कोरोना संक्रमण त्रास भने बढेको छ । काम लिने हतारोमा भीडभाड गर्ने सर्वसाधारणलाई नियन्त्रण गर्न सरकारी कार्यालयमा संभावना कम देखिएपछि कोभिड १९ संक्रमण त्रास बढेको हो ।
अधिकांस कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम सुरू भएको छ । अदालतमा बन्दाबन्दीको समयमा महामारीसम्बन्धी र बन्दीका मुद्दा हेरिए पनि अहिले अन्य केही सेवा विस्तार गरिएको छ । मालपोत, नापी, राजश्व, जिल्ला प्रशासन जस्ता भीडभाड हुने कार्यालयहरूमा आलोपालो प्रणालीमा काम गर्ने गरी विहान ८ वजेदेखि बेलुकी ६ वजेसम्म दुई चरणमा काम हुने प्रबन्ध मिलाइएको जनाइएको छ ।
बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पनि खुलेका छन् । कार्यालय तथा संघसंस्था खुले पनि सेवाग्राही भने फाट्टफुट्ट मात्रै आएको कर्मचारीहरू बताउँछन् । प्रशासन, मालपोत, राजश्व, विद्युत, खानेपानी, वाणिज्य बैंक र विकास बैंक शाखाहरूमा भने सेवा लिन चाहने सेवाग्राहीको भीड देखिएको छ ।।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्