झापा, असार ४ ।राष्ट्रपति विद्या भण्डारीले दुवै सदनबाट पारित कालापानी, लिपुलेक र लिम्पियाधुरा देखिनेगरी निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीवार प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण भएको हो।राष्ट्रिय सभाले उक्त विधेयक बिहीवार अपराह्ण सर्वसम्मतिले पारित गरेको थियो। प्रतिनिधिसभाबाट पारित भएपछि उक्त विधेयक राष्ट्रिय सभामा पठाइएको थियो।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान सम्पन्न भएपछि भने, “नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित गरियोस् भनी राखिएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा ५७ मत परेको छ।”अध्यक्ष तिमिल्सिनाले भने,”संविधान संशोधनको प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मत पारित भएको घोषणा गर्दछु।”कुल ५९ सदस्यीय राष्ट्रिय सभामा ५७ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए।राष्ट्रिय सभा अध्यक्षले मत दिन नमिल्ने र एक सदस्य मनोनीत हुन बाँकी भएकाले राष्ट्रिय सभामा मतदान गर्ने कुल सदस्य सङ्ख्या ५७ नै हो।प्रतिनिधिसभामा उपस्थित सबै सांसदले उक्त संविधान संशोधन विधेयक जेठ ३१ गते शनिवार पारित गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्