झापा, असार ४ । आईसियू सिल गरिएकै अस्पतालका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ ।

त्रासका कारण प्रादेशिक अस्पताल मेचीमा हिजोदेखि नै सेवाग्राही आउने क्रम घटेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले अस्पतालको सेवा प्रभावित बनेको बताए । “ चिकित्सकसहित २५ जना जनशक्ति क्वारेन्टाइनमा बसेपछि सेवा प्रभावित हुनु स्वाभाविक हो” उनले भने,“ अस्पताल आसपासमा पनि त्रास थपिएको छ,असरलाई सामान्य बनाउन सबैले लाग्नु पर्छ यो साझा दायित्व हो । ” अस्पतालको आइसोलेसनमा अहिले पनि पाँच जना बिरामी छन् । २५ वेडको आइसोलेसन रहेको प्रादेशिक अस्पताल मेचीमा भारतबाट आउने मानिस नरोकिएसम्म छ—सात जना मानिस नियमित हुने डा. ठाकुरको भनाइ छ । अस्पतालले सेवा लिन आउनेलाई मास्क, सेनिटाइजर, भौतिक दुरी कायम गर्न र अनिवार्य आवश्यक सबै सुरक्षा सावधानी अपनाउन भनेको छ । अस्पतालको आइसियूबाहेकका अन्य सेवा प्रभावित हुन नदिन प्रयास भए पनि जनशक्ति अभावमा समस्या सिर्जना भएको छ । अस्पतालमा आइसियू सिल भएपछि तीन दिन अघिबाटै उक्त सेवा रोकिएको छ । अन्य रोगीले पनि सेवा नपाउने अवस्था आएको स्थानीय लक्ष्मी मिश्रले बताए । मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा बसेकामध्ये दुई जनामा लगातार सोमबार र मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार कचनकवल गाउँपालिका — ५ का ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी भारतको मुम्बईबाट सिधैँ मेची अस्पतालको आइसोलेसनमा भर्ना भएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए । उनीसहित कचनकवलमा कोरोना संक्रमितको संख्या १२८पुगेको छ । जसमध्ये ९९ जना निको भएर घर फर्किएका छन् । सोमबार सो अस्पतालको आइसोलेसनमा रहेका भद्रपुर नगरपालिका — ८ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । मेची क्याम्पसको क्वारेन्टाइनमा बसेका ती व्यक्ति शनिबार मेची अस्पताल भर्ना भएका थिए । मेची अस्पतालको आइसियुमा राखेर उपचार गरिएका ती व्यक्ति नै कोरोना संक्रमण पहिलो हुन् । झापामा हालसम्म कोरोना संक्रमितको संख्या १८२ पुगेको छ । जसमध्ये ११३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्