झापा, असार ५ । नेपालबाहिर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले गृह जिल्लामा पिसिआर मेशिन खरिद गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यान दिदै झापामै कोरोना परीक्षण गर्न प्रयोगशाला निर्माणका लागि अन्तर्राष्ट्रिय झापाली समाजले मेशिन खरिद गर्न सो सहयोग गर्ने भएको हो । पिसिआर मेशिन खरिद गर्नका लागि जम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्षहरु दिपक ओली, महासचिव खेमराज जमरकट्टेल, कोषाध्यक्ष चुडामणि कार्कीलगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको रायमा सो निर्णय गरिएको प्रवक्ता बालहरि राईले बताए । समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षता र संरक्षक दिनेश पोखरेलको बिशेष उपस्थितिमा हिजो बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रवक्ता राईले सो सहयोग एकका लागि एक अभियानलाई उपलब्ध गराउने जानकारी दिए । एकका लागि एक अभियानले झापामा कोरोना परीक्षण प्रयोगशाला निर्माण गर्ने कार्यको अगुवाई गरिरहेको छ । हरेक विपद्मा अन्तर्राष्ट्रिय झापाली समाजले गृह जिल्लामा सहयोग गर्दै आएको छ । भर्खरै समाजले ३ वटा एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै जिल्लाका सबै पालिकाहरुलाई स्वाब संकलनका लागि १६०० पिसिआर किट उपलब्ध गराएको थियो । त्यसैगरी बाढीपीडित विपन्न नागरिकहरुलाई कमल गाउँपालिकामा ९ वटा घर निर्माण गरिदिएको प्रवक्ता राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्