दमक, असार ५ । संबिधान र अन्य कुनै ऐनमा नभएको पटके कर असुल्न दमक नगरपालिकाले सुरु गरेपछि त्यसको बिरोध हुन थालेको छ ।

नगरपालिकाले टिपर, ट्याक्ट्रर, ट्रक, टेम्पो, विद्युतीय रिक्सा लगायतका यातायात ब्यवसायीहरुसंग पूर्वाधार सेवा करको नाममा पटके कर असुल्न सूचना गरेपछि सरोकारवाला निकायले त्यसको बिरोध गरेका छन् । सवारी साधन खरिद गर्दा नै बिभिन्न शीर्षकका कर तिरिएको भन्दै दमक उद्योग बाणिज्य संघको अगुवाईमा ब्यवसायीहरुले त्यस्तो करको खारेजी गर्न मागसहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
नगरपालिकाले आगामी आ.व. २०७७÷०७८ मा पूर्वाधार सेवा उपभोग गर्ने सवारी धनीहरुले वार्षिक रुपमा पूर्वाधार विकास कर बुझाउन गत असार १ गते सूचना प्रकाशित गरेको थियो । तर सवारी साधन खरिद गर्दा नै बिभिन्न शीर्षकहरुमा करहरु बुझाईने भएकाले लकडाउनको मारमा परेका व्यवसायीहरुमाथि थप करको भार नथोपर्न उनीहरुले आग्रह गरेका छन् ।
स्थानीय सरकारले व्यावसायिक वातावरण बनाउनु पर्नेमा विभिन्न शीर्षकमा कर मात्रै उठाउने गर्दा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । पूर्वाधार सेवाको नाउँमा लिने पटके कर पूर्णरुपमा खारेज गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्