दमक ,असार ५ । झापाको दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले साढे चारतले सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ ।

संस्थाले नवनिर्मित भवनबाट आजदेखि औपचारिक रुपमा कारोवारसमेत शुरु गरेको छ । दमक ६ स्थित वेलडाँगी रोडस्थित संस्थाको आफ्नै १८ धुर जमिनमा साढे चारतले भवन निर्माण गरिएको अध्यक्ष रवि न्यौपानेले बताएका छन् । गत फागुन ६ गते शिलान्यास गरी निर्माण शुरु गरिएको भवनमा करीव २ करोड ७५ लाख रुपैयाँ खर्च भएको उनले जनाएका छन् । उनले सदस्यहरुको सुविधाका लागि संस्थाले सुविधासम्पन्न भवन बनाएर सेवा शुरु गरिएको बताए ।
संस्थाका व्यवस्थापक कमल घिमिरेका अनुसार साढे चारतले भवनको ग्राउण्डमा ८ वटा व्यापारिक कोठाहरु छन् भने माथिल्लो तलाहरुमा कार्यालय कक्ष,वैठक कक्ष ,सभाहललगायतका संरचनाहरु निर्माण गरिएको छ ।
२०६६ चैत ११ गते स्थापना भएको सो संस्था दमक ८ स्थित एक घरको भाडामा सञ्चालन हुँदै आएको थियो । भाडाको घरमा संस्था नियमित सञ्चालन गर्न समस्या भइरहेको वेला संस्थाले आफ्नै भवन निर्माण गरेपछि दैनिक कार्य सञ्चालनमा थप सुुविधामा सहज हुने व्यवस्थापक घिमिरेले वताए । कार्यालय भवन स्थानान्तरण कार्यक्रममा संस्थाका सञ्चालक समिति,शेयर सदस्यहरु,कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
संस्थामा हालसम्म ४ हजार ७ सयबढी शेयर सदस्य पुगेको छ । सदस्यहरुको ५० करोड ५८ लाख २८ हजार बचत निक्षेप, ६१ करोड ७५ लाख ऋण लगानी रहेको छ भने कूल शेयर पूँंजी ७ करोड ३१ लाख २५ हजार पुगेको छ । त्यस्तै संस्थाले ७७ करोड ४५ लाख कूल कारोवार गरेको व्यवस्थापक घिमिरेले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्