काठमाडौं, असार ६ । शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको निधन भएको छ ।

८९ वर्षको उमेरमा जोशीको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा शनिबार दिउँसो पौने ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तीन सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो । करिब दुई दशकअघि घाँटीमा क्यान्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तन क्यान्सरसमेत भएको थियो । जोशी पद्मकन्या क्याम्पसको संस्थापक हुन्। उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन्। जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् ।
जोशी २०१९ सालमा राजा महेन्द्रले गठन गरेको संविधान मस्यौदा समिति सदस्यसमेत थिइन् । चार सदस्यीय मस्यौदा समितिमा उनी एकमात्र महिला सदस्य थिइन् । संविधान मस्यौदा समितिको सदस्यसमेत रहेकी अंगुरबाबाले महिला संगठनको काठमाडौं सभापति बनेर ९ वर्ष काम गरेकी थिइन् । जोशी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन् । उनले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् ।
‘काठमाडौं डिल्लीबजारकी जोशीलाई तत्कालीन रानी ऐश्वर्यले समेत खुब मान्ने गर्नुहुन्थ्यो’, जोशीको सम्झाना गर्दै कनकमणि दीक्षितले भने, ‘उहाँको प्रमुख योगदान शिक्षा र समाजसेवा नै हो ।’
जोशीको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्