शिवसताक्षी, असार ६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को शिवसताक्षी नगरपालिकाको वडा नं. ११ स्तरीय वडा समन्वय परिषद् गठन गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, शिवसताक्षी नगरपालिकाको सहयोगमा वडामा कार्यसमिति गठन गरिएको हो । वडाका १२ आदिवासी जनजाति संस्थाका प्रतिनिधिको भेलाले निर्मला प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा दुर्गा मगर, हर्क एकतिन लिम्बू र आशा चौधरी रहेका छन् भने सचिवमा मदनकुमार राई, कोषाध्यक्षमा टंककुमारी खपाङ्गी भुजेल तथा सह–सचिवमा पुनम भुजेल, इन्द्रमान माझी र कौशिला सुनुवार चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा डेजी थामी, लेखनाथ तामाङ, करण दनुवार र मकरबहादुर देवान रहेका छन् ।
त्यसैगरी सोही भेलाले सल्लाहकार समिति गठन गरेको छ । जसको संयोजकमा रतन थिङलाबो रहेका छन् भने सदस्यहरुमा धनबहादुर राई, सुष्मा श्रेष्ठ र इन्द्रबहादुर राना छन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को संघीय परिषद् बैठकको निर्देश तथा संघीय परिषद् सचिवालयको निर्णय बमोजिम नेपालको वर्तमान परिस्थिति र आदिवासी जनजाति आन्दोलनको रणनीतिक र कार्यनीतिक अभियान मुताबिक नेफिनअन्तर्गतका संगठनहरूको सुदृढीकरण र विस्तार अभियानलाई तिब्रता दिइरहँदा शिवसताक्षीमा पनि यसप्रकारको वडा समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष निर्मला प्रधानले बताइन् ।
नेपाल आदिवासी जनजाति महासंघ, शिवसताक्षीका अध्यक्ष मणिकुमार माझीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि भीमकुमार सुनुवार, किरात धर्म साहित्य उत्थान संघ जिल्ला अध्यक्ष शिवकुमार योङ्या, सचिव नन्दराज योङहाङ, लक्ष्मी योङहाङ, चन्द्रबहादुर लिङ्देन लगायतको आतिथ्य रहेको थियो ।
समाजसेवी तथा ज्येष्ठ सदस्य धनबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निर्मला प्रधानको रहेको थियो । कार्यक्रम वडा नं. ११ को भूपू सैनिक संघको हलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्