गौरादह , असार ७ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश प्रहरी ऐन छिट्टै आउने बताएका छन् ।

गृहनगर गौरादह नगरपालिकाको छैठौँ नगरसभामा उनले त्यस्तो बताएका हुन् । प्रदेश सरकारले प्रदेश प्रहरी ऐेन ल्याउने तयारी समेत गरिरहेको बताएपनि मन्त्री कार्कीले ऐन कहिलेसम्ममा आउने हो त्यो भने खुलाएनन् । गत वर्ष नै प्रदेश प्रहरी ऐन ल्याउने भनिए पनि त्यो अहिलेसम्म गरिएको छैन । सात वटा प्रदेशमध्ये प्रदेश २ सरकारले मात्रै प्रदेश प्रहरी ऐन ल्याएको छ । संघीय सरकारसँग कुरा बाझिदा त्यो ऐन कार्यान्वयनमा आउन भने सकेको छैन । मन्त्री कार्कीले यसै वर्ष गौरादहको बैगुनधुरा, डोरामारी र बालुबथानमा प्रहरी चौकी स्थापना गरिने बताए । त्यसको पनि उनले यकिन मिति खुलाएनन् । मिति नखिलिदा मन्त्रीको भनाइमा विश्वास गर्ने आधार नभएको स्थानीयको प्रतिक्रिया छ । बैगुनधुराका गोपाल भट्टराईले भने,“ पोहोर पनि मन्त्रीले यस्तै भन्नु भएको थियो, हाम्रो ठाउँमा चौकी स्थापना भएन ।“ स्थानीयले मन्त्रीले झुठा अभिव्यक्ति र आश्वासन दिएर आफूहरुलाई भुलाउने गरेको आरोप लगाए ।
मन्त्री कार्कीले गौरादह प्रहरी चौकीलाई स्तरोन्नति गरी “क“ वर्गको इलाका प्रहरी कार्यालय बनाउने कार्य अघि बढिसकेको बताए । उनले सुरक्षा नीतिलाई प्रविधिमैत्री बनाउने बताउँदै त्यसका लागि अध्ययन भइरहेको र गृहकार्य अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्