झापा, असार ८ । मेची अभियानले हिजो झापाका थप ३ पालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

अभियानका संयोजक विजय डालमियाका अनुसार बिर्तामोड, कनकाई र दमक नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई ती सामग्री हस्तान्तरण गरिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दमक नगर प्रमुख रोम ओली, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख गीता भेट्वाल, बिर्तामोड नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पत्रकार ज्ञानेन्द्र निरौलाले जानकारी दिए । हस्तान्तरण गरिएका सामानमा ५०— ५० थान भिटिएम ( भाइरल ट्रान्सपोर्ट मिडिया), ५ — ५ थान व्यक्तिगत सुरक्षा कवच ( पीपीइ), एक— एक कार्टुन सेनिटाइजर ,एक — एक सय मास्क रहेको जनाइएको छ । पहिलो चरणमा ८, दोस्रो चरणमा ४ र तेस्रो चरणमा ३ पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अभियानले यसअघि बुद्धशान्ति गाउँपालिकालाई एक सय थान भिटिएम,पाँच थान पीपीए, एकसय थान एन९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराएको छ । मेचीनगर नगरपालिकालाई २०० थान भिटिएम उपलब्ध गराइएको हो । त्यसैगरी भद्रपुर,शिवसताक्षी, गौरादह, अर्जुनधारा नगरपालिका , कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज, कमल, हल्दीबारी गाउँपालिका प्रत्येकलाई ५०— ५० थान ,पाँच — पाँच थान पीपीए, एकसय पिस एन ९५ मास्क,१ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको हो । बिर्तामोड, दमक र कनकाई नगरपालिकाको अवस्था हेरेर सहयोग गरिने संयोजक डालमियाले बताए । स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्मा पुगेका थिए । शर्माले अधिकांश पालिकामा बनाइएका क्वारेन्टाइनको अवलोकन गरी जानकारी लिएका छन् । अभियानले यसअघि प्रदेश —१ सरकारलाई एक सय थान व्यक्तिगत सुरक्षा कवच ( पीपीइ) हस्तान्तरण गरेको अभियान संयोजक डालमियाले बताए । उनका अनुसार अभियानमार्फत बिराटनगर महानगरपालिकालाई ५०, जिल्ला प्रहरी कार्यालयलाई ३०, एपीएफलाई १०, इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई १०, मेचीनगर नगरपालिकालाई १० र ताप्लेजुङ प्रहरीलाई पाँच थान पीपीइ उपलब्ध गराएको छ । पहिलो चरणमा अभियानले विभिन्न संघसंस्था र व्यक्तिलाई एक हजार ७३० थान मास्क समेत उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्