दमक, असार ९ । झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा भएको सातौ नगरसभाले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

असार १० गते पुनः बस्ने गरि स्थगित भएको नगरसभामा दुईवटा विधेयक पेश भएका छन् । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक ईन्द्रबहादुर गुरुङले कृषि तथा पशुपञ्छी विधेयक र विधायन समितिका संयोजक बोधराज न्यौपानेले दमक प्रज्ञा प्रतिष्ठान विधेयक पेश गरेका हुन् । विधेयकमाथि सुझाव दिन असार ११ गते सम्मको समय दिईएको छ । नगरप्रमुख रोमनाथ ओलीले सभाको दोश्रो सत्र असार १० गतेलाई आह्वान गरेका छन् ।
नगरसभामा उपप्रमुख गीता अधिकारीले आगामी वर्षका लक्ष्य, अनुमान तथा कार्यक्रम सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नीति तथा कार्यक्रममा पूर्वाधार विकाससँगै सामाजिक कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।
नीति तथा कार्यक्रममा विभिन्न नौ वटा शीर्षकमा नगरपालिकाले पूर्वाधारतर्फका लक्ष्य सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधारसँगै विभिन्न सामाजिक कार्यक्रमहरुको पनि लक्ष्य सार्वजनिक गरेको छ । १ हजार परिवारको निशुल्क स्वास्थ्य विमा गर्ने, २ सय अतिबिपन्न परिवार पहिचान गरी उनीहरुलाई खाद्यान्नमा छुट उपलव्ध गराउने, तीनवटा सुपथ मूल्य पसल सञ्चालन गर्ने, २ सय मजदुरलाई भलाई कोषमा सहभागी गराउने, विपन्न, दलित, एकल महिला, अपांगता भएका र यौनिक अल्पसंख्यकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्ने जस्ता कार्यक्रमहरु नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्